भ्रष्टाचारविरुद्ध खरो उभिएका शेरबहादुर ‘युवा सशक्त पत्रकारिता पुरस्कारबाट सम्मानित

sc mahendra

डडेल्धुरा : विकृति, विसंगति र भ्रष्टाचारविरुद्ध निरन्तर खरो कलम चलाउँदै आएका पत्रकार शेरबहादुर भण्डारी ‘युवा सशक्त पत्रकारिता पुरस्कार–२०८३’बाट सम्मानित भएका छन्।

नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाको १६औँ साधारण सभाका अवसरमा भण्डारीलाई उक्त पुरस्कार प्रदान गरिएको हो।

 

शेर बहादुर भण्डारी

डडेल्धुरा जिल्लामा रहेर पत्रकारितामार्फत जनताका आवाज बुलन्द बनाउँदै सार्वजनिक चासोका विषयलाई निर्भीकतापूर्वक उठान गरेको योगदानको कदर गर्दै उनलाई सम्मान तथा पुरस्कृत  गरिएको महासंघले जनाएको छ।

भण्डारी हाल सिमाना न्युजमा कार्यरत छन्। उनलाई  ५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मानित गरिएको हो।

यसअघि उनले शिलापत्र डटकम, ग्यालेक्सी फोकेमा काम गर्दै पत्रकारितामा आफ्नो छुट्टै पहिचान बनाएका छन्।

विशेषगरी अनियमितता, बेथिति, भ्रष्टाचार र नागरिकका दैनिक समस्याका विषयमा उनले निरन्तर खबरदारीमूलक लेखन गर्दै आएका छन्।

स्थानीय तहदेखि प्रशासनिक निकायसम्मका कमजोरीमाथि प्रश्न उठाउँदै सत्य र न्यायको पक्षमा दृढतापूर्वक उभिने युवा पत्रकारका रूपमा भण्डारी परिचित छन्।

उनको लेखनीले धेरैपटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुका साथै समाजमा सार्वजनिक बहस सिर्जना गरेको छ।

चुनौतीपूर्ण परिस्थितिमा पनि सक्रिय, निर्भीक र जिम्मेवार पत्रकारिता गर्दै समाजमा पुर्‍याएको योगदानको सम्मानस्वरूप उनलाई पुरस्कृत गरिएको महासंघले जनाएको छ।

यस सम्मानसँगै भण्डारीको पत्रकारिता यात्रामा थप ऊर्जा थपिएको छ।

डडेल्धुराको पत्रकारिता क्षेत्रमा सक्रिय युवा पुस्ताका लागि उनी प्रेरणाका पात्र बनेका छन्।

जनपक्षीय पत्रकारिता र भ्रष्टाचारविरुद्धको उनको निरन्तर खबरदारी आगामी दिनमा अझ सशक्त रूपमा अघि बढ्ने विश्वास गरिएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.