
धनगढीः कैलालीमा ईभी हाइस दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।

महेन्द्र राजमार्ग अन्तर्गत गौरीगंगा नगरपालिका–१ गोप्कास्थित टी एण्ड टी होटल नजिक मंगलबार बिहान सु।प।प्र। ०१–००१ ख ३७१४ नम्बरको ईभी हाइस दुर्घटना हुँदा तीन जना घाइते भएको प्रहरीले जनाएको छ।

हाइस आफैँ अनियन्त्रित भई सडकको दाहिनेतर्फको नालामा पल्टिएको छ। दुर्घटनामा सिन्धुलीको कमलामाई नगरपालिका–७ निवासी २३ वर्षीय चालक मिलन भुजेलसहित दुई सहचालक घाइते भएका हुन्। घाइतेमध्ये सिन्धुलीको दुधौली नगरपालिका–४ निवासी २६ वर्षीय प्रकाश दाहालको मुख र छातीमा तथा कैलालीको गोदावरी नगरपालिका–२ निवासी २८ वर्षीय सागर उपाध्यायको ढाड र खुट्टामा चोट लागेको छ।
उनीहरूको अवस्था मध्यम रहेको र उपचारका लागि नोभा अस्पताल, धनगढी पठाइएको प्रहरीले जनाएको छ। चालक भुजेलको ढाडमा सामान्य चोट लागेको छ। उनको चौमालास्थित लाइफकेयर क्लिनिकमा उपचार भइरहेको छ। दुर्घटनामा हाइसको अगाडिको र पछाडिको भागमा पूर्ण रूपमा क्षति पुगेको छ। दुर्घटनाका बेला गाडीमा चालकसहित तीन जना मात्र सवार रहेको प्रहरीले जनाएको छ।



