
डडेल्धुरा : आलिताल गाउँपालिकाअन्तर्गतका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले डडेल्धुरा अस्पतालको अवलोकन भ्रमण सम्पन्न गरेका छन्। अस्पतालबाट प्रदान हुँदै आएका स्वास्थ्य बीमा, सामाजिक सेवा एकाइ (एसएसयु) तथा एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) लगायतका महत्वपूर्ण स्वास्थ्य सेवाबारे प्रत्यक्ष जानकारी लिई त्यसलाई समुदायस्तरसम्म प्रभावकारी रूपमा पुर्याउने उद्देश्यले उक्त अवलोकन भ्रमण आयोजना गरिएको हो।


जर्मन सङ्घीय आर्थिक सहयोग तथा विकास मन्त्रालयको आर्थिक सहयोग तथा जिआईजेडको प्राविधिक सहयोगमा बहुउद्देश्यीय विकास समाज डडेल्धुरा (एमपिडिएस) ले आलिताल गाउँपालिकासँगको सहकार्यमा वडा नं. १, २, ३ र ८ मा ‘हेल्थ इक्विटी एन्ड एक्सेस फर लास्ट माइल कम्युनिटी’ (हिल) परियोजना सञ्चालन गरिरहेको छ। परियोजनाले विशेषगरी महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा हिंसा प्रभावित समुदायलाई लक्षित गरी आधारभूत स्वास्थ्य सेवा र सामाजिक सुरक्षासम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।
गत २०८३ साउन २८ गते आयोजना गरिएको अवलोकन भ्रमणका क्रममा डडेल्धुरा अस्पतालका ओसीएमसी, एसएसयु तथा स्वास्थ्य बीमा सेवाका प्रमुख एवं प्रतिनिधिहरूले सम्बन्धित सेवाहरू प्राप्त गर्ने प्रक्रिया, उपलब्ध सुविधा र सेवा प्रवाहको कार्यप्रणालीबारे विस्तृत जानकारी गराएका थिए।

भ्रमणमा स्वास्थ्य बीमा बोर्ड, स्वास्थ्य कार्यालय डडेल्धुरा, जिआईजेड तथा एमपिडिएसका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो। साथै, आलिताल गाउँपालिकाका महिला स्वास्थ्य स्वयंसेविकाहरूको सक्रिय सहभागिता रहेको आयोजकले जनाएको छ।
समुदायका नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रही स्वास्थ्यसम्बन्धी जानकारी प्रवाह गर्ने स्वयंसेविकाहरूलाई अस्पतालबाट उपलब्ध सेवासुविधाबारे सही, स्पष्ट र व्यावहारिक जानकारी दिन सक्षम बनाउनु भ्रमणको मुख्य उपलब्धि रहेको आयोजकको भनाइ छ।
अवलोकन भ्रमणबाट प्राप्त ज्ञान तथा जानकारीलाई स्वयंसेविकाहरूले आमा समूहका बैठक, घरभेटघाट तथा समुदायस्तरीय छलफलमार्फत स्थानीय नागरिकसम्म पुर्याउने अपेक्षा गरिएको छ। यसबाट स्वास्थ्य बीमा, सामाजिक सेवा एकाइ तथा ओसीएमसीबाट प्राप्त हुने सेवाबारे समुदायमा रहेको अन्योल हट्नुका साथै लक्षित वर्गको स्वास्थ्य सेवामा पहुँच बढ्ने विश्वास गरिएको छ।

हिल परियोजनाका कार्यक्रम संयोजक मुकुन्द चटौतका अनुसार यस्ता अवलोकन भ्रमणले महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई स्वास्थ्य सेवा प्रवाहको प्रत्यक्ष अनुभव प्रदान गर्नुका साथै आफ्नै समुदायमा स्वास्थ्य सेवा सुधारका लागि नयाँ तथा व्यावहारिक उपाय अपनाउन प्रेरित गर्नेछ।
आलिताल क्षेत्रमा स्वास्थ्य बीमा, ओसीएमसी र एसएसयुलगायतका सेवाबारे अझै व्यापक जनचेतनाको आवश्यकता रहेको भन्दै स्वयंसेविकामार्फत घरदैलोसम्म सही र प्रभावकारी सूचना पुर्याउन सके सीमान्तकृत तथा सेवाको पहुँचबाट टाढा रहेका समुदायको स्वास्थ्य सेवामा पहुँच थप सुदृढ हुने विश्वास गरिएको छ।



