
धनगढी : वर्षायामका कारण केही समयदेखि बन्द रहेको धनगढी उपमहानगरपालिकाको शनिबारीय महिला उद्यम बजार पुनः सञ्चालनमा आउने भएको छ। उपमहानगरपालिकाले यही असोज २४ गतेदेखि जेन्जीमार्गमा बजार सञ्चालन गर्न लागेको हो।
धनगढी उपमहानगरपालिकाले पछिल्लो तीन वर्षदेखि सञ्चालन गर्दै आएको महिला उद्यम बजार वर्षायामका कारण स्थगित गरिएको थियो। स्थानीय महिलाले उत्पादन गरेका सामग्रीको बिक्री तथा प्रवर्द्धन गर्ने उद्देश्यले बजारलाई पुनः निरन्तरता दिन लागिएको उपमहानगरपालिकाले जनाएको छ।

बजार पुनः सञ्चालनका लागि आवेदन खुला गरिएको उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला कुमारी रानाले जानकारी दिइन्। उनका अनुसार बजारमा बेरोजगार तथा सीप भएका महिलालाई प्राथमिकता दिइनेछ। इच्छुक महिलाले आफूले उत्पादन गरेका हस्तकलाका सामग्री तथा मौलिक खानाका परिकार बिक्री गरेर आम्दानी गर्न सक्नेछन्।
‘शनिबार एक दिन भए पनि दिदीबहिनीहरूको श्रमको सम्मान, आर्थिक सशक्तीकरणको अभियान’ भन्ने नारासहित सञ्चालन हुँदै आएको महिला उद्यम बजार महिलालाई स्वरोजगार बनाउने महत्वपूर्ण माध्यमका रूपमा विकास गर्ने उपमहानगरपालिकाको लक्ष्य छ।

२०८१ सालदेखि सुरु गरिएको यस बजारले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनाका साथै स्थानीय सीप, कला, संस्कृति र मौलिक खानपानको संरक्षण तथा प्रवर्द्धनमा समेत सहयोग पुर्याउने विश्वास गरिएको छ। महिलालाई आयआर्जनमा जोड्दै परिवारको आर्थिक अवस्था सुधार गर्न र घरेलु हिंसा न्यूनीकरणमा समेत योगदान पुर्याउने उद्देश्य रहेको उपप्रमुख रानाले बताइन्।
उद्यम बजारमा स्थानीय उत्पादन तथा परिकारका लागि छुट्टाछुट्टै स्टल राखिनेछन्। एकतर्फ महिलाले उत्पादन गरेका दुना–टपरी, ढकिया, आरनका सामग्री, चुरा, पोतेलगायत हस्तकलाका सामग्री बिक्रीका लागि राखिनेछन्।
त्यस्तै, अर्कोतर्फ सुदूरपश्चिमका मौलिक तथा परम्परागत खानाका परिकार उपलब्ध हुनेछन्। बजारमा निसौसे, माणा, सेलरोटी, ढिक्री, कर्ता र बटुकलगायत स्थानीय तथा अर्गानिक परिकारको स्वाद लिन सकिने उपप्रमुख रानाले जानकारी दिइन्।
महिला उद्यम बजारलाई सामग्री बिक्री गर्ने स्थानमा मात्र सीमित नराखी सबै उमेर समूहका नागरिकका लागि घुमघाम र मनोरञ्जनको गन्तव्यका रूपमा विकास गर्ने तयारीसमेत गरिएको छ। बालबालिकाका लागि खेल्ने सामग्री तथा ज्येष्ठ नागरिकका लागि भजन–कीर्तन र अन्य मनोरञ्जनात्मक गतिविधि सञ्चालन गर्ने योजना रहेको उपमहानगरपालिकाले जनाएको छ।
उपमहानगरपालिकाले आफूमा भएको सीपलाई व्यवसायमा रूपान्तरण गर्न चाहने महिलालाई बजारमा सहभागी हुन आग्रह गरेको छ। बजारमा सहभागी भएर महिलाले आफ्ना उत्पादनको बजारीकरण गर्न, ग्राहकसँग प्रत्यक्ष जोडिन र स्वरोजगारको अवसर सिर्जना गर्न सक्ने अपेक्षा गरिएको छ।



