parwat hotel
Citizan

माछापालनमा रमाउँदै गाउँपालिका अध्यक्ष

Chure

११ पुस, गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङको सक्रियता राजनीतिकसँगै कृषि पेसामा पनि उत्तिकै छ ।

धार्चे गाउँपालिका–३ स्थित खोर्लाबेँसीमा रहेको ‘धार्चे रेन्वे ट्राउट एण्ड अर्ग्यानिक होम’ सञ्चालन गर्दै आएका अध्यक्ष गुरुङ बिहान–बेलुकीको समय यही फार्ममा बिताउँछन् । त्यसैबाट हुने आम्दानीले आफ्नो र परिवारको जीविकोपार्जन राम्रोसँग चल्दै आएको उनको भनाइ छ ।

glam &
Citizan
alitalnewyear2081

पालिकाको केन्द्र रहेको माछीखोलाबाट करिब २० मिनेटमा पुगिने खोर्लाबेँसीमा रहेको अर्गानिक फार्ममा उनी सकभर हरेक साँझ बास बस्न पुग्छन् र फार्ममा रहेका माछापोखरी डुलेर दिनभरिको थकाइ मेट्छन् । खोर्लाबेँसीमा गुरुङले करिब १२ रोपनी क्षेत्रफल जमिनमा नौवटा पोखरी निर्माण गरेर व्यावसायिक रेन्वो ट्राउट माछापालन गरेका छन् ।

‘धार्चेमा धेरै चिसो पानी बगिरहेको छ, यसलाई उपयोग गर्नुपर्‍यो भनेर व्यावसायिकरूपमा रेन्वो ट्राउट माछापालन गर्न सुरु गरिएको हो’, उनले भने ।

उनले बाह्य पर्यटकलाई लक्षित गरेर २०६७ सालमा निर्माण गरिएको अग्र्यानिक होमलाई रुपान्तरण गरेर अहिले साझेदारीमा ट्राउट एण्ड अर्ग्यानिक होम सञ्चालन गरेको बताए ।

ट्राउट एण्ड अर्ग्यानिक होममा उत्पादित रेन्वो ट्राउट माछा प्रतिकिलो एक हजार सात सयमा बिक्री हुने गरेको उनको भनाइ छ । ‘अर्ग्यानिक होममा नै पकाएर खाने पर्यटक तथा पाहुनाले ट्राउट माछा प्रतिकिलो दुई हजार तिनुपर्छ, घर लैजानेले प्रतिकिलो एक हजार सात सयमा पाउँछन्’, उनले भने ।

आजभोलि मनास्लु पदयात्रामा जाने आउने पर्यटकसमेत ट्राउट एण्ड अर्ग्यानिक होममा बसेर ट्राउट माछाको स्वाद चाख्न आउन गरेका छन् । ‘दैनिक करिब छ–सात किलो माछा बिक्री हुन्छ, माघमा तातोपानी मेलाको समयमा त दैनिक दुई–तीन क्विन्टलसम्म पनि बिक्री हुँदै आएको छ’, उनले भने ।

फार्मको उत्पादनले स्थानीय बजारमा नपुग्नेसमेत गुरुङले बताए । ट्राउट माछा पाल्नका लागि १४ देखि १८ डिग्री उपयुक्त तापक्रम हो । अहिले ट्राउट एण्ड अर्ग्यानिक होमबाट वार्षिक २० देखि २५ क्विन्टल उत्पादन हुन्छ ।

lali

यसबाट राम्रो आम्दानी हुँदै आएको छ, उत्पादित माछा अधिकांश स्थानीय बजारमा खपत हुने गरेको भए पनि केही भने आरुघाट बजार बिक्री हुने गरेको अध्यक्ष गुरुङले बताए ।

रेन्वो ट्राउट माछा दुई वर्षमा तीन सय ग्रामसम्मको हुने र अन्य माछाको तुलनामा अन्यन्तै स्वादिष्ट हुने मान्यता छ । उनले अर्ग्यानिक फार्ममा माछापालनबाहेक माछाको भुरा उत्पादन गर्ने ह्याचरी सञ्चालन गरिएको छ भने एरोविक कफीखेती र लोकल कुखुरापालन गर्दै आएका छन् । धार्चेमा चिसो पानी भएकाले ट्राउट माछापालनको प्रशस्त सम्भावना रहेको उनले बताए ।

धार्चेका किसानलाई हौसला प्रदान गर्न फार्ममै भुरा उत्पादनका लागि ह्याचरीसमेत सञ्चालन गरिएको छ । फार्म सञ्चालनका लागि करिब तीन करोड लगानी भएको उनले जानकारी दिए ।

ट्राउट एण्ड अर्ग्यानिक होममा माछाका लागि दाना उत्पादन गर्नका लागि एक तालिम प्राप्त व्यक्तिलाई सेयर सदस्यका रूपमा राखिएको उनले बताए ।

‘सामूहिकरूपमा कमाउने र रोजगारी प्रदान गर्ने उद्देश्य छ । बाहिरबाट आउने पर्यटकले बोकेर ल्याएर फोहर फाल्ने ठाउँ धार्चेलाई बनाउनु हुँदैन, धार्चेको उत्पादनले बजारलाई आत्मनिर्भर बनाउनुपर्छ’, गुरुङले भने ।

अहिले सञ्चालन गरिएको ट्राउट एण्ड अग्र्यानिक होम बाह्यभन्दा पनि आन्तरिक पर्यटकलाई लक्षित गरी सञ्चालन गरिएको उनको भनाइ छ । ग्रामीण परिवेश भएकाले धार्चेमा सानो लगानीमा तर सफा र स्वच्छ संरचना निर्माण गरेर पर्यटकलाई आर्कषित गर्नुपर्ने उनले बताए ।

धार्चे आउने पर्यटकलाई यहीँको उत्पादनको स्वाद चखाउन सके स्थानीय किसानले उत्पादन गरेको बस्तु बिक्री पनि हुने र किसानले पैसा पाउने अवस्था सिर्जना हुन्छ, त्यसो गर्दा स्थानीय किसानको आयआर्जन वृद्धि गर्न मद्दत पुग्छ भन्ने विश्वास अध्यक्ष गुरुङको छ ।

फार्मबाट अहिले वार्षिक एक लाख ट्राउट माछाको भुरा उत्पादन गर्न सकिने अध्यक्ष गुरुङले बताए । ‘फार्मका लागि आवश्यक पर्ने ३० हजारदेखि ३५ हजारसम्म मात्र माछाको भुरा उत्पादन गर्ने गरिएको छ’, उनले भने, ‘भुराको माग भए त एक लाखसम्म पनि उत्पादन गर्न सकिन्छ ।’

एउटा उमेर पुगेका माछाबाट एक सय ५० ग्राम अण्डा उत्पादन हुन्छ भने एक ग्राम अण्डाबाट १६ वटा भुरा उत्पादन हुने गुरुङको भनाइ छ । फार्ममा अहिले भुरा उत्पादनका लागि छ सयवटा पोथी माछा रहेको छ । फार्ममार्फत धार्चेका किसानलाई माछापालनमा प्रोत्साहनका लागि तालिम सञ्चालन गर्ने तयारी गरिएको छ । रासस

#लक्ष्मण गुरुङ

You might also like
Leave A Reply

Your email address will not be published.