डडेल्धुरा आलिताल : भारतको बेंगलुरुको मल्लेश्वरम क्षेत्रमा विभत्स हत्यापछि शवलाई ३२ भन्दा बढी टुक्रा पारेर फ्रिजमा राखिएको महालक्ष्मीको माइती घर आलिताल रहेको खुलेको छ । महालक्ष्मीको मुल घर डडेल्धुराको आलिताल गाउँपालिका वडा नम्बर ४ लामजिले घर भएका करनसिंह कामी (राना)की छोरी रहेको खुलेको हो ।
सानैमा महालक्ष्मीका बुवा करनसिंह कामी(राना) रोजगारीका लागि भारत गएका थिए । उनले डडेल्धुरा आलिताल ५ लुइटाबाटै बिहे गरेर भारतको ब्याङ्लोरमा बस्दै आएको आलिताल गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष कमलसिंह बोहराले बताए ।
‘उहाँको पुख्र्यौली घर यतै हो । सानैमा रोजगारी गर्न करन कामी भारत गएका हुन् । लामोसमय पछि उनले यहाँ आएर दुई बर्ष पहिले नेपाली नागरिकता बनाएर गएका छन् । तर उनका छोराछोरी कोही पनि यता बस्दैनन् । उनीहरु उतै जन्मेको हुर्केको हुन् ‘ उनले भने ।
करन सिंह राना नेपाली थर कामी रहेको बुझिएको छ । करनका बुवाको थर कामी हुँदा करनसिंह रानाले पनि कामी थरबाट नै नेपाली नागरिकता बनाएको बुझिएको छ भने भारतीय कागजपत्रमा राना थर रहेको बुझिएको छ । ६० वर्ष पहिलेदेखि नै आफूहरु भारतमा बस्दै आएको महालक्ष्मीका भाई हुकुम सिंह रानाले बताए ।
गत शनिबार भारतको बेंगलुरुको मल्लेश्वरम क्षेत्रमा एक महिलाको विभत्स हत्यापछि शवलाई ३२ भन्दा बढी टुक्रा पारेर फ्रिजमा राखिएको घटना बाहिर आएको थियो । हाल उनको परिवार झारखण्डमा बस्दै आएको थियो । बेंगलुरुको व्यालिकवल क्षेत्रमा बस्दै आएकी उनको शव दिउँसो फेला परेको थियो ।
महालक्ष्मी हत्या प्रकरणमा श्रीमानले महालक्ष्मीका प्रेमी अशरफ हत्यारा हुनसक्ने दाबी गरे तर प्रहरीले महिलाका पति हेमन्त दास र कपाल काट्ने अशरफलाई लामो समयसम्म सोधपुछ गर्यो । दुवैलाई सोधपुछ गरेपछि प्रहरीले हत्यामा दुवैको कुनै भूमिका नभएको निष्कर्ष निकालेको छ । सेप्टेम्बर २ देखि सेप्टेम्बर १९ सम्म दुवैको मोबाइल लोकेशन र कल डिटेल रेकर्डमा त्यस्तो केही फेला परेन । आरोपीले गरे आत्महत्या
लक्ष्मीको को क्रूर हत्या गरेको अभियोग लागेका युवाले आत्महत्या गरेका छन् । मुक्ति रञ्जन रोय नाम गरेका ती युवाले महालक्ष्मी नामकी नेपाली युवतीको हत्यागरी उनको शवलाई धेरै टुक्रा पारेर फ्रिजमा राखेको आरोप लागेको थियो ।
प्रहरीले अभियुक्तको निरन्तर खोजी गरिरहेको थियो । तर, सेप्टेम्बर २५ मा मुक्तीको शव ओडिशाको एउटा गाउँ नजिकै भेटिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
रिपोर्टका अनुसार रोयले एक सुसाइड नोट पनि छोडेका छन्, जसमा उनले हत्या स्वीकार गर्दै यो अपराध गरेर गल्ती गरेको लेखेका छन् । ओडिशा पुलिसले उनीविरुद्ध पहिले नै अप्राकृतिक मृत्युको मुद्दा दर्ता गरिसकेको छ।