डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ।
आलिताल गाउँपालिकाको आयोजना तथा दुर्गा माविको व्यवस्थापनमा मंगलवारदेखि पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु भएको हो।
आलिताल खेल मैदानमा प्रतियोगिताको प्रमुख अतिथि राष्ट्रियसभा सदस्य जगतबहादुर पार्कीले एक भव्य कार्यक्रमकाबीच उद्घाटन गरे । प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलकुद स्वास्थ्यका लागि निकै महत्त्वपूर्ण भएको बताए। राष्ट्रियसभा सदस्य पार्कीले खेलकुदका माध्यमबाट आफ्नो देशलाई विश्वसामु चिनाउन सकिने बताए।

विद्यालयस्तरबाट खेलाडी उत्पादन गर्नका लागि राष्ट्रपति रनिङ शिल्ड निकै प्रभावकारी भएको उनको भनाइ थियो। ‘स्थानीय स्तरमा रहेका खेलाडीहरूको पहिचान, संरक्षण गर्नमा राष्ट्रपति रनिङ शिल्ड निकै फलयादी बन्दै गएको छ,’ राष्ट्रियसभा सदस्य पार्कीले भने, ‘यस्ता किसिमका प्रतियोगिताले समाज र समुदायलाई जोडेको छ। जसले सामाजिक सद्भाव कायम गर्न ठूलो मद्धत गरेको छ।’ उनले विद्यार्थीहरूलाई अनुशासित र सव्य भएर प्रतियोगितामा प्रतिस्पर्धा गर्न सुझाव दिए।
आलितालको खेलकुदबिकासमा आफुले सक्ने पहल गरेको बताउदै यस आर्थिक बर्षमा आलिताल खेलमैदान निर्माणमा एक करोड ५३ लाख रुपैयां बजेट बिनियोजन गराएको समेत पार्कीले जानकारी दिए ।

सभाका अध्यक्ष तथा गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्कीले विद्यालयस्तरीय प्रतियोगिताबाटै भविष्यमा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीको पहिचान गर्न सकिने भएकाले प्रतियोगिता महत्वपूर्ण भएको बताए।
उनले प्रतियोगितामा सहभागिता जनाएका विद्यार्थीहरूलाई अनुशासित र नियमपूर्वक आफ्नो खेल प्रदर्शन गर्न आग्रह समेत गरे। उनले भने पालिकाको खेलमैदानको आफु बनिरहेको खेृलकुद मैदानकोृ विषयमा सामाजिक संजालमा नकारात्म टिप्पणी आईरहेको बताउदै यस लाई दिगो रुपमा निर्माण सम्पन्न गर्न आफु लागी परेको बताए । उनले यस आर्थिक बर्षमा बिनियोजन गरेको एक करोड ५३ लाख रुपैयांले खेल मैदानलाई खोलाको जोखिमबाट सुरक्षित गर्दै खेल मैदानलाई पूर्णता दिने बताए ।
आलिताल खेल मैदानमा भइरहेको प्रतियोगितामा पालिकाका ९ वटा विद्यालयको सहभागिता रहेको छ। उद्घाटन कार्यक्रममा विद्यार्थीहरूले मार्चपासका साथै विविध सांस्कृतिक प्रस्तुतिसमेत राखेका थिए। छात्र–छात्रा भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो, कराते, उसुलगायत खेलहरूमा प्रतिस्पर्धा भइरहेको छ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खुलकुद’ भन्ने नारासहित आज मंगलबारदेखि सुरु भएको प्रतियोगिता बिहिबारसम्म सञ्चालन हुनेछ। उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ।



