डडेल्धुरामा चार दिने पत्रकारिता क्षमता अभिबृद्वि तालिम सुरु

sc mahendra

डडेल्धुरा : डडेल्धुरामा आफ्नो एफएमको आयोजनामा आजदेखि ४ दिने पत्रकारिता क्षमता अभिवृद्धि तालिम सुरु भएको छ।

डडेल्धुराको होटल माउन्टेन भ्युको सभाहलमा सुरु भएको तालिम माघ ३ गतेसम्म सञ्चालन हुनेछ।

उद्घाटन समारोहका विभिन्न अतिथि वक्ताहरूले पत्रकारिताको महत्व, वर्तमान चुनौतीहरू र विकासका उपायबारे चर्चा गरेका थिए ।  जिल्ला समन्वय समिति प्रमुख गगन सिंह भण्डारीले पत्रकारितालाई राज्यको चौथो अंग र समाजको मेरुदण्डको रूपमा चित्रण गर्दै पत्रकारिताको वैधता, कानुनी मान्यता र विश्वसनीयताको महत्वमा जोड दिए। उनले तथ्यमा आधारित समाचारले स्वच्छ समाज निर्माणमा सहयोग पुग्ने र यस किसिमका तालिमले पत्रकारहरूको जिम्मेवारी र विश्वसनीयता बढाउने विश्वास व्यक्त गरे।

रेडियो युनिटीका स्टेसन म्यानेजर उत्तर बिष्टले डिजिटल युगमा पत्रकारिताको भूमिकाबारे चर्चा गर्दै स्थानीय सरकारले पत्रकारिता क्षेत्रमा लगानी गर्नुपर्ने र पत्रकारहरूको क्षमता विकासमा सहयोग गर्नुपर्नेमा जोड दिए।

नेपाल पत्रकार महासंघका डडेल्धुराका अध्यक्ष हिक्मत बहादुर सिंहले डडेल्धुराको पत्रकारिताको शुरुवाती चरणदेखि हालसम्मको यात्रामा आएको परिवर्तनबारे चर्चा गर्दै पत्रकारितामा शुद्धीकरणको आवश्यकता औंल्याए।

पत्रकारितामा न्युनतम योग्यता कायम रहेको बताउदै हरेक पत्रकारमा दक्षता वृद्धि गर्न जरुरी रहेको बताए । सिंहले स्थानिय सरकारबाट पत्रकारितामा गर्ने लगानी व्यक्तिवादी प्रवृत्तिको रहेको भन्दै यसलाई सुधार गरि सामाजिक उत्तरदायित्व सहित संस्थालाई प्रथमिकता दिनुपर्ने कुरा बताए।

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै अमरगढी नगरपालिका वडा नं. ७ का अध्यक्ष खडक सिंह बोहराले पत्रकारिता समाजको ऐना भएको बताउँदै पत्रकारहरूले सत्य र तथ्यमा आधारित सूचना दिनुपर्नेमा जोड दिए। उनले स्थानीय सरकारले पत्रकारिता क्षेत्रमा सहयोग गर्ने इच्छाशक्ति राखे पनि स्रोतसाधन अभाव रहेको बताए।

डडेल्धुराका डीएसपी सुगन्ध श्रेष्ठले प्रविधिको युगमा पत्रकारहरूलाई अद्यावधिक हुनुपर्नेमा जोड दिए। उनले सामाजिक सञ्जालको प्रयोगको महत्त्व र सूचनाको विश्वसनीयता सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए ।

आफ्नो एफएमका संयोजक विजय कुमार मानन्धरले पत्रकारिता तालिमको मुख्य उद्देश्य सञ्चारकर्मीहरूको क्षमता विकास गर्नु र पत्रकारिता मार्फत समाज रूपान्तरणमा योगदान पुर्याउनु रहेको बताए।

४ दिनसम्म चल्ने यो तालिममा मुख्य प्रशिक्षकको रुपमा बिनुमाया राइले प्रशिक्षण गर्नुहुनेछ । कार्यक्रमले स्थानीय सञ्चारकर्मीहरूलाई सशक्त बनाउन र समाजप्रति उनीहरूको उत्तरदायित्व थप बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले लिएको छ।

कार्यक्रममा विभिन्न संचार क्षेत्रमा काम गरिरहेका १२ जना सहभागीहरुरहेका छन् ।

You might also like
Leave A Reply

Your email address will not be published.