डोटीमा विवाह भोज खाएका ९० जना बिरामी, केहीको उपचार जारी

sc mahendra

माघ ६, डोटी — जिल्लाको आदर्श गाउँपालिका-१, टाँगमा विवाह भोज खाएका ९० जना बिरामी परेका छन्। शुक्रवार नर बहादुर विककी छोरीको विवाहमा सहभागी माइती पक्षका व्यक्तिहरूमा स्वास्थ्य समस्या देखिएको हो।

आदर्श गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख बम बहादुर खड्काका अनुसार बिरामीहरूमा ज्वरो आउने, वान्ता हुने, रिंगटा लाग्ने, पखाला हुने, र अत्यधिक कमजोरी महसुस हुने समस्या देखिएको छ। बिरामीमध्ये ३० जनाको शनिवार र बाँकी ६० जनाको आइतबार स्थानीय स्वास्थ्य चौकी बाझमा उपचार गरिएको छ।

स्वास्थ्य शाखाले दिएको जानकारीअनुसार विवाह भोजमा खाइएको सुजी (हलुवा) बाट समस्या उत्पन्न भएको हुनसक्ने आशंका छ। बिरामीहरूको नमुना परीक्षणका लागि जिल्ला अस्पताल डोटीमा पठाइएको छ।

बिरामीहरूको उपचारका लागि एमबिबिएस डाक्टरसहित १३ जनाको टोली परिचालन गरिएको छ। अधिकांश बिरामीलाई उपचारपछि घर फर्काइएको भए पनि केहीको स्वास्थ्य स्थिति अझै गम्भीर भएकाले उपचार जारी रहेको छ।

घटनाबारे जानकारी पाएपछि प्रहरी निरीक्षक राजेन्द्र बहादुर चन्दको नेतृत्वमा ७ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईका अनुसार थप अनुसन्धान भइरहेको छ।

स्थानीय प्रशासन र स्वास्थ्य शाखाले यस घटनाबाट शिक्षा लिएर खाद्य सुरक्षा सुनिश्चित गर्न विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन्।

 

You might also like
Leave A Reply

Your email address will not be published.