बैतडी : बैतडीको भिमदत्त बहुप्राविधिक शिक्षालय पाटनका शिक्षक सुरेन्द्र बिष्ट मृत अवस्थामा फेला परेका छन्। कृषि सहायक प्रशिक्षक पदमा कार्यरत बिष्टको शव रुपन्देहीको बुटवल उपमहानगरपालिका-७ शिवनगरस्थित सामुदायिक वनमा रुखमा झुन्डिएको अवस्थामा भेटिएको हो।
२५ वर्षीय बिष्ट बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका-८ कालागाउँका स्थायी बासिन्दा थिए। प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा बायाँ जुत्ताको तुनाले पासो लगाएको देखिएको जनाएको छ। बिष्टको खल्तीबाट नागरिकता भेटिएपछि उनको पहिचान खुलेको हो।
परिवारको अनुसार उनी जण्डीसको उपचारका लागि काठमाण्डौ गएका थिए र केही दिनयता सम्पर्कविहीन भएका थिए। शिक्षालयका अनुसार उनी ६ गतेदेखि कार्यक्षेत्रमा अनुपस्थित थिए।
शिक्षालय परिवार बिष्टको असामयिक निधनबाट शोकमा डुबेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र पोष्टमार्टमपछि विस्तृत विवरण आउने प्रहरीको भनाइ छ।
