
कञ्चनपुर: कञ्चनपुरमा लागूऔषध चरेससहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बझाङको बित्थड चिर गाउँपालिका–१ निवासी ४० वर्षीय गमिलाल बोहरा रहेका छन्।

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र कञ्चनपुर प्रहरीको संयुक्त टोलीले आज बिहान कञ्चनपुरको वेदकोट नगरपालिका–३, सामदैजीबाट बोहरालाई पक्राउ गरेको हो। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई बाटोमा शंकास्पद अवस्थामा फेला पारेको थियो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेशराज जोशीका अनुसार बोहराको झोलामा लुकाएर राखिएको १ किलोग्राम ५८६ ग्राम चरेश बरामद गरिएको छ।
पक्राउ परेका बोहरालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार लागूऔषधको गैरकानुनी कारोबारविरुद्ध कञ्चनपुरमा कडाइ गरिएको छ।



