बझाङको बित्थडचिर गाउँपालिकामा २६ किशोरीलाई आत्मरक्षा तालिम प्रदान

sc mahendra

रमेश बहादुर सिंह , बझाङ, बित्थडचिर गाउँपालिका वडा नं १ मा महिला हिंसा न्यूनीकरण गर्ने उद्देश्यले २६ जना किशोरीलाई आत्मरक्षा तालिम प्रदान गरिएको छ।

बलात्कार, जबर्जस्ती करणी, कुटपिटजस्ता घटनाको जोखिम कम गर्न बिहीबार आयोजित एक दिने तालिमले किशोरीलाई आत्मरक्षा सम्बन्धी विभिन्न सीप सिकाएको छ।

गाउँपालिका वडा नं १ का अध्यक्ष मन्नो बोहराले समाजमा अझै पनि महिला तथा किशोरीमाथि हुने दुव्र्यवहारलाई अन्त्य गर्न यस तालिमले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले भने, “सिकेका कुराहरू अन्य साथीलाई पनि सिकाउन सके राम्रो प्रभाव पर्छ।”

तालिममा वडा नं १ मा रहेका ४ वटा विद्यालयका किशोरीहरूको सहभागिता रहेको थियो। अध्यक्ष बोहराका अनुसार किशोरीहरूको सुरक्षा र आत्मरक्षा सीप विकासका लागि वडाले यो तालिमको आयोजना गरेको हो।

तालिममा सहभागीहरूलाई महिला हिंसा, कानुनी उपचार र आत्मरक्षा सम्बन्धी शारीरिक तथा सैद्धान्तिक ज्ञान प्रदान गरिएको थियो। सहभागी किशोरी निर्मला बोहराले तालिमपछि सिकेका सीपहरू अन्य साथीहरूलाई पनि सिकाउने बताइन्। उनले भनिन्, “अप्ठ्यारो परेका बेला आफ्नो सुरक्षा कसरी गर्ने भनेर सिक्दै छु।”

कार्यक्रममा गाउँपालिका अध्यक्ष अम्मर सिंह महर, महिला बालबालिका शाखाका प्रमुख तथा वडा नं १ का जनप्रतिनिधिको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ बझाङका पूर्व अध्यक्ष जगदिश रोकायाले गरेका थिए भने सञ्चालन केदार माध्यमिक विद्यालयका शिक्षक जय बहादुर बोहराले गरेका थिए।

यो तालिमले महिला हिंसाबाट बच्न, सचेतना फैलाउन र प्रतिरक्षा गर्ने उपायहरू सिकाउन योगदान पुर्याएको स्थानीयहरूले बताएका छन्।

You might also like
Leave A Reply

Your email address will not be published.