
अछाम : अछामको ढकारी गाउँपालिका-१ छिन्ने जंगलमा गत शनिवार मृत फेला परेका १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
गोठालो गएका बेला बेपत्ता भएका उनीहरूको शव जङ्गलमा भेटिएको थियो। जिल्ला प्रहरी कार्यालय अछाम, केन्द्रीय अनुसन्धान ब्युरो (CIB), सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले अनुसन्धान गरेपछि ढुङ्गा प्रहारबाट हत्या भएको निष्कर्ष निकालेको हो।

हत्या अभियोगमा दुई किशोर पक्राउ

ढकारी गाउँपालिका-३ तालीका दुई किशोरलाई हत्या अभियोगमा पक्राउ गरिएको छ। शनिवार आयोजित पत्रकार सम्मेलनमा प्रहरीले दुवैलाई सार्वजनिक गरेको थियो। तर, उमेर नपुगेकाले नाम गोप्य राखिएको छ।
प्रेम सम्बन्धका कारण घटना भएको आशंका
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार मृतक किशोरीहरूसँग ती किशोरहरूको प्रेम सम्बन्ध रहेको तथ्य फेला परेको छ। घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।
यो दुखद घटनाले स्थानीयबासीलाई स्तब्ध बनाएको छ भने दोषीलाई कानूनी कारबाही गर्न माग गर्दै नागरिकहरू आवाज उठाइरहेका छन्।



