धनगढी, शनिबार:धनगढीको फाप्ला मैदानमा शनिबार सुरु भएको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा फ्रेन्डर्स क्लब डडेल्धुराले विजयी सुरुवात गरेको छ।
उद्घाटन खेलमा डीसीए धनगढीलाई ८ विकेटले पराजित गर्दै डडेल्धुराले सुखद् सुरुवात गर्यो।
धनगढीले दिएको १३३ रनको लक्ष्य डडेल्धुराले १५.५ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो। डडेल्धुराका लागि कुशल भुर्तेलले अविजित ८७ रनको शानदार पारी खेले। विनोद भण्डारीले पनि ४२ रन बनाएर टोलीलाई जिततर्फ अघि बढाए। धनगढीका लागि ललित राजवंशी र अमित श्रेष्ठले समान १/१ विकेट लिए ।
टस हारेर ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३२ रन बनायो। टोलीका लागि अमित श्रेष्ठले ३२, निरज ऐरले २७ र कप्तान नारायण जोशीले १५ रन बनाए। डडेल्धुराका राहुल लुनियाले ३ विकेट लिए भने कुशल भुर्तेल र रवि विष्टले २/२ विकेट हात पारे। हेमन्त धामीले पनि १ विकेट लिए।
कुशल भुर्तेलको अविजित ८७ रनले उनलाई खेलको म्यान अफ द म्याच घोषित गरियो।
प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले एक विशेष समारोहबीच गरेका थिए।
पुरस्कार राशि:
गो ड्रिमर्सको आयोजनामा सुरु भएको यस प्रतियोगिताका विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाखसहित ट्रफी पाउनेछन्। प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद १ लाख प्रदान गरिनेछ। उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उदीयमान खेलाडीलाई जनही ५० हजार पुरस्कार प्रदान गरिनेछ। प्रत्येक खेलका म्यान अफ द म्याचलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ।
