
डडेल्धुरा : माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ डडेल्धुराको आलिताल गाउँपालिका आउने भएका छन्।
पुनले आलितालमा भोलिदेखि सुरु हुने पाँचौं पालिका स्तरिय खुला भलिबल तथा क्रिकेट प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।

आलिताल गाउँपालिका अध्यक्ष शेर सिंह पार्कीका अनुसार खेल मैदान निर्माणका लागि यस आर्थिक वर्षमा विनियोजन गरिएको १ करोड ५३ लाख रुपैयाँ पुनकै पहलमा प्राप्त भएको हो। खेलकुद क्षेत्रको विकासका लागि यो ठुलो सहयोग हो, अध्यक्ष पार्कीले भने।
पुनको आगमनले पालिकावासी उत्साहित भएका छन्।

पालिकाले पुनको स्वागतका लागि विशेष तयारी गरेको जनाएको छ। स्वागत कार्यक्रममा झाँकी प्रदर्शन र मगर समुदायको प्रसिद्ध मारुनी नृत्य प्रस्तुत गरिनेछ। पुनसँगै सुदूरपश्चिम प्रदेश सांसद ओम विक्रम भाट ‘सरल’ पनि कार्यक्रममा सहभागी हुने पालिकाले जनाएको छ।
आलिताल गाउँपालिका वडा नम्बर ८ घुम्ति खेल मैदानमा हुन लागेको पाँचौं अध्यक्ष कप प्रतियोगितामा भलिबल र क्रिकेट दुवै खेल समावेश गरिएको छ। अध्यक्ष पार्कीका अनुसार भलिबल खेलमा महिला र पुरुष दुबै टिमले प्रतिस्पर्धा गर्न सक्नेछन्। प्रतियोगिताले स्थानीय खेलाडीहरूको प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
पालिकाले आगामी दिनमा खेलकुद गतिविधिलाई निरन्तरता दिने र खेलाडीहरूको क्षमता अभिवृद्धि गर्ने योजना बनाएको जनाएको छ।
प्रतियोगिता भोलिदेखि औपचारिक रूपमा सुरु हुनेछ।



