डडेल्धुरा : डडेल्धुरा आलिताल गाउँपालिका-७, कोइरालेका योगेन्द्र साउदको भारतको हरियाणा राज्यको पानीपत शहरमा सडक दुर्घटनामा परी निधन भएको छ।
गएराति करिब १० बजे पैदल हिँडिरहेका अन्दाजी ४० वर्षीय साउदलाई ट्रकले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको परिवारले जानकारी दिएको छ।
साउद १८ वर्षदेखि भारतमै रोजगारी गर्दै आएका थिए। परिवारका एक जिम्मेवार अभिभावकका रूपमा उनी सधैँ मेहनत गरेर परिवारको जीविकोपार्जनमा सहयोग गरिरहेका थिए।
मंसिर ८ गते मात्र घरबाट भारत गएका साउद दुई छोरा र एक छोरीका पिता हुन्।
उनको निधनले गाउँमा शोक छाएको छ। गाउँलेहरूले शोकाकुल परिवारप्रति समवेदना प्रकट गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गरेका छन्।
पारिवारिक स्रोतका अनुसार साउदको पार्थिव शरीर भोलि नेपाल ल्याइ गोदावरीमा अन्त्येष्टि गरिने छ।

