
डडेल्धुरा डडेल्धुरा जिल्लाको आलितालमा पाँचौं अध्यक्ष/उपाध्यक्ष भलिबल र क्रिकेट कपको भव्य उद्घाटन गरिएको छ ।
आलिताल गाउँपालिका स्तरीय पाँचौं अध्यक्ष/उपाध्यक्ष भलिबल तथा क्रिकेट कप प्रतियोगिताको उद्घाटन पूर्व अर्थमन्त्री तथा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले गरेका हुन्।


कार्यक्रमलाई सम्बोधन गर्दै पुनले खेलकुदले मानसिक र शारीरिक स्वास्थ्य दुवैलाई बलियो बनाउने भन्दै खेलकुद परिषद्को राष्ट्रिय नारालाई स्मरण गराए। उनले सुदूरपश्चिमलाई खेलकुदको उर्वर भूमि भएको उल्लेख गर्दै एनपीएलको सफल आयोजनाले त्यसको उदाहरण प्रस्तुत गरेको बताए।


पुनले सुदूरपश्चिममा पाइने सांस्कृतिक विविधता र मौलिकता प्रति पनि आफ्नो प्रशंसा व्यक्त गरे। उनले गण्डगी क्षेत्रमा नाचिने नृत्य, राप्ती क्षेत्रमा नाचिने तप्का लगायतका झ्याउरे नृत्यहरूको प्रस्तुति देखेर आफूलाई रोमाञ्चकता महसुस भएको बताए। साथै, यस क्षेत्रमा विभिन्न जातजाति र संस्कृतिहरूको आपसी मेलमिलाप रहेको उनले अनुभव गरेको उल्लेख गरे।
पुनले आलितालबाट पाँच वटा आयोजना माग गरिएकामा आलिताल खेलमैदानको निर्माणका लागि यो वर्ष रु १ करोड ५३ लाखको बजेट विनियोजन गरिएको जानकारी दिए। उनले खेलकुदका थप संरचनाहरूलाई पनि प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।
कार्यक्रममा पुनले संघीयताको महत्वलाई जोड दिदै न्यूनतम बजेट सबै निर्वाचन क्षेत्रमा सन्तुलितरूपमा पुग्नुपर्ने धारणा राखे। उनले सुदूरपश्चिम र अन्य दुर्गम क्षेत्रहरूमा विकास निर्माण प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै स्थानीय जनप्रतिनिधिहरूलाई थप जिम्मेवार हुन आग्रह गरे।
कार्यक्रममा मगर मारुनी नाचसहित विभिन्न सांस्कृतिक प्रस्तुतिहरू गरिएको थियो। प्रमुख अतिथी पुनले क्रिकेटको ब्याटिङ गरेर खेलको औपचारिक उद्घाटन गरे। प्रतियोगिता फागुन २६ गतेसम्म सञ्चालन हुने छ, जसमा पुरुष तथा महिला भलिबल प्रतियोगिता र पुरुषतर्फको मात्र क्रिकेट खेल हुने आयोजकले जानकारी दिए।
प्रतियोगितामा रोमाञ्चक खेलहरू हुँदैछन्। आज क्रिकेटतर्फ आयोजक र वडा नं. १ बीच प्रतिस्पर्धा चलिरहेको छ। भलिबलतर्फ पुरुषतर्फ आयोजक र वडा नं. ७ को खेल जारी छ भने महिलातर्फ वडा नं.३ र वडा नं. ८ बीच प्रतिस्पर्धा हुँदैछ। कृकेट तर्फ ८ टिम छन् भने पुरुष भलिबल तर्फ ११ टिम प्रतिस्पर्धामा छन् भने महिला भलिवल तर्फ ७ टिम रहेका छन् ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश सदस्य ओम विक्रम भाट “सरल” सहित स्थानीय जनप्रतिनिधिहरू,पत्रकार, खेलाडी, र नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।



