डडेल्धुरामा १८५ वर्षपछि सानो ओत फेला परेको पुष्टि

sc mahendra

डडेल्धुरा — नेपालमा लोप भइसकेको मानिएको ‘सानो ओत’ १८५ वर्षपछि पुनः फेला परेको छ। रंगुन र पुन्तरा खोलाको संगममा एउटा सानो ओतको छाउरा भेटिएको अध्ययन समूहले पुष्टि गरेको छ।

विशेषज्ञ समूहका मोहनविक्रम श्रेष्ठ, गंगा श्रेष्ठ, हिरुलाल डंगौरा, राजीव चौधरी, पूर्णमान श्रेष्ठ, करुण देवान, राजेश सदा, मेलिसा सावेज र जुओफु जियाङको अनुसन्धानका क्रममा यो महत्त्वपूर्ण खोज भएको हो।

नेपालमा सानो ओतलाई सन् १८३९ पछि देखिएको कुनै ठोस प्रमाण भेटिएको थिएन। जसकारण यसलाई नेपालबाट लोप भइसकेको मानिएको थियो।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन) को प्रतिवेदनअनुसार सुदूरपश्चिमको डडेल्धुरामा भेटिएको यो सानो ओतको छाउरा संरक्षणका लागि महत्त्वपूर्ण मानिएको छ। प्रतिवेदनमा भनिएको छ, “एक हप्तासम्म पालनपोषण पश्चात छाउरा सानो ओतलाई पुनः बासस्थानमा स्थानान्तरण गरिएको थियो। यसको अस्तित्वले उक्त क्षेत्रमा अन्य ओतहरू पनि रहेको संकेत गर्छ।”

नेपालमा कालो ओत (यूरेशियन ओटर) र खैरो ओत (स्मूथ कोटेड ओटर) प्रजाति पनि पाइन्छ। विश्वमा १३ प्रजातिका ओत रहेका छन्।

आइयुसिएनले ओतलाई संकटापन्न प्राणीको सूचीमा राखेको छ। माछा, भ्यागुता, चरालगायत जलचरहरू ओतका मुख्य आहारा हुन्। पानीमा बस्ने यो संवेदनशील प्राणीको संरक्षणका लागि अब विशेष पहल आवश्यक रहेको विज्ञहरूले बताएका छन्।
सानो ओत संसारकै सबैभन्दा सानो ओत हो। यसको वैज्ञानिक नाम Aonyx cinereus हो। यो प्रजाति दक्षिण एसिया र दक्षिणपूर्व एसियाका नदी, झाडी र पोखरीमा पाइन्छ। नेपालमा भने यो १८५ वर्षपछि मात्रै फेला परेको छ।

कस्तो हुन्छ सानो ओत?

सानो ओतको शरीर खैरो हुन्छ र पेटको भाग हल्का रङको हुन्छ। यसको लम्बाइ लगभग ४५ देखि ६१ सेन्टिमिटर हुन्छ भने तौल २ देखि ५ किलोग्रामसम्म हुन्छ। यसको खुट्टामा साना नङ हुन्छन् जसले यसलाई अरू ओतभन्दा फरक बनाउँछ।

You might also like
Leave A Reply

Your email address will not be published.