
आलिताल, डडेल्धुरा — विगतमा सुमसान जस्तै देखिएको आलिताल गाउँपालिकाको कार्यपालिका बैठकमा यसपटक भने ठूलै भूकम्प गयो। ‘न ठेगानको बादल, न पानीको सङ्केत— तर कार्यपालिका बैठक भने छताछुल्ल !
बैठकमा दुई पक्षबीच घम्साघम्सी भयो। वडा नं. २ का अध्यक्ष प्रमोद मल्लले पालिका अध्यक्ष शेर सिंह पार्कीलाई ‘बजेटको मनोमानी गरेको आरोप लगाए। । उनले भने, कार्यपालिकामा एउटा निर्णय हुन्छ, कार्यान्वयनमा अर्को ‘ बजेट बाँडफाँडमा वडा नं २ लाई भुलाइदिने परम्परा बसिसकेको छ।

यता, वडा नं. ४ का अध्यक्ष कमल बोहराले पनि स्वरमा स्वर मिलाउँदै भने, कृषि कार्यक्रमहरू कार्यपालिकामा छलफल नगरी सिधै कार्यान्वयनमा लैजानु भनेको ‘बोल्ड निर्णय’ होइन, यो त ‘अलोकतान्त्रिक मनोमानी’ हो , उनले वडाको वजेट पनि पालिका अध्यक्षले आफुहरुसंग सल्लाह नगरि मानोमानी ढंगबाट परिचालन गरेको आरोप लगाए ।
तर, पालिका अध्यक्ष पार्कीले भने आफूलाई लागेको आरोपलाई हावादारी समाचार भन्दै खारेज गरे। सबै निर्णय कार्यपालिकाको सहमतिमा हुन्छ। केही सदस्यहरू आफ्नै स्वार्थका कारण हल्ला मच्चाइरहेका छन्। उनले कार्यपालिका बैठक अवरुद्ध गरेर कसैलाई फाइदा नभएको भन्दै चिरपरिचित संवाद दोहोर्याए, हामी मिलेर काम गर्ने हो’ ।
तर, बैठकमा उठेका कुराहरू हेर्दा, के मिलेर गर्ने— विकास कि विवाद? भन्ने प्रश्न भने अनुत्तरित नै छ। बैठकको असर गाउँपालिकाका जनताले भोग्ने पक्का छ, तर यस झगडाको अन्त्य भने कार्यपालिका सदस्यहरूले होइन, ‘बजेटको अंकगणित’ ले गर्ने देखिन्छ ।
आलिताल गाउँपालिकाको कार्यपालिका बैठक अब ‘बजेट बाँडफाँड कार्यशाला’ भन्दा कम देखिँदैन। विभिन्न दलका प्रतिनिधिहरूले ‘विकास कि विवाद?’ भन्ने बहसलाई सैद्धान्तिक रूपमा होइन, व्यावहारिक रूपमा अघि बढाइरहेका छन्।
वडा नं. १ का यज्ञ बहादुर देउवा, जो एमालेबाट निर्वाचित हुन् , अचानक बैठकको शुरू हुनुअगावै ‘स्वास्थ्य समस्या’ देखाउँदै बाहिरिए। यता, कार्यपालिका अवरोध गर्न कांग्रेसी प्रमोद मल्ल, धन बहादुर देउवा, एमालेका कमल बोहरा र कुम्भर बुढा गठबन्धन बनाइरहेका थिए, भने अध्यक्ष पार्कीको पक्षमा माओवादी केन्द्रका वीर बहादुर बोहरा, डम्मर ढाट र बल बहादुर बुढामगर थिए।

कार्यपालिका अवरोध को एउटा बिषय मोटरसाइकलको बजेटमा अड्किएको रहस्य खुल्यो। वडा नं. २ का प्रमोद मल्लले ‘विकास’ को नाममा मोटरसाइकल किन्न बजेट मागेका रहेछन्, तर बजेट व्यवस्था गर्न नसकिने भएपछि ‘राजनीतिक मुद्दा’ बनाएर कार्यपालिका अवरोध गरेको आरोप बुढामगरले लगाउन भ्याए ।
वडा नं. २ का प्रमोद मल्लको असन्तुष्टि ‘बजेटको हकमारी’
प्रमोद मल्लले कार्यपालिकामा लिइएको निर्णय कार्यान्वयन नहुने गरेको आरोप लगाउँदै भने, वडालाई न्यून बजेट दिई भुलाउने काम भइरहेको छ। हामीले विरोध गर्न नजाने बजेट हाम्रो हात लाग्दैन। उनले अध्यक्ष पार्कीले बजेट मनपरी ढंगले बाँडेको दाबी गरे।
पालिका अध्यक्षको बचाउ ‘हल्ला मात्रै, वास्तविकता अर्कै’
पालिकाका अध्यक्ष पार्की भने आरोपको खण्डन गर्दै भन्छन्, सबै निर्णय कार्यपालिकाकै सहमतिमा हुन्छ। बाहिर प्रचार गरिएजस्तो केही छैन। उनको समर्थनमा रहेका वडा अध्यक्ष बलबहादुर बुढामगर भन्छन्, वडा नं. २ का अध्यक्ष प्रमोद मल्लले मोटरसाइकल किन्न बजेट मागे। त्यो सम्भव नभएपछि राजनीतिक मुद्दा बनाएर कार्यपालिका अवरुद्ध गरे। सम्भव नै नभएका बजेट माग गरेर कार्यपालिका अबरोध गरेको सुनाए ।
आलितालको यो विवादले राष्ट्रिय राजनीति पनि घुसपैठ गरेको संकेत दिन्छ। माओवादी केन्द्रबाट निर्वाचित अध्यक्ष पार्कीको पक्षमा माओवादीकै सदस्यहरू छन्, भने कांग्रेस र एमालेका केही सदस्य मिलेर विरोधी खेमा बनेका छन्। तर, एमालेकै यज्ञबहादुर देउवा भने अध्यक्षको पक्षमा रहेको जस्तो देखिन्छ, जसले समीकरणलाई अझ जटिल बनाइदिएको छ।
अब प्रश्न उठ्छ— विकास रोक्न राजनीति भैरहेको हो कि विकासकै नाममा राजनीति? कार्यपालिका बैठक अवरुद्ध भइरहँदा बजेट पास हुने सम्भावना टर्दै गएको छ। अन्ततः, झगडाले कसैको कुर्सी सुरक्षित होला, तर जनताको विकास भने अनिश्चितकालका लागि स्थगित हुने देखिन्छ।



