डडेल्धुरा, फागुन ३ डडेल्धुराको परशुराम नगरपालिकाबाट यही फागुन ७ गतेदेखि नेकपा(एमाले)डडेल्धुराको जरा अभियान सुरु हुने भएको छ। नेकपा (एमाले) परशुराम नगर कमिटीको छैटौं पूर्ण बैठकपछि शनिबार सम्पन्न नगर भेलाले प्रजातन्त्र दिवसको अवसरमा उक्त अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।
नेकपा (एमाले) डडेल्धुराको चौथो जिल्ला कमिटीको पूर्ण बैठक बाट जिल्ला भरि जरा अभियानलाई प्रभावकारी बनाउने निर्णय भएपछि परशुराम नगर कमिटीले यसको सुरुवात फागुन ७ गते गर्ने तय गरेको हो।

परशुराम नगर कमिटी अध्यक्ष ओमप्रकाश जोशीको अध्यक्षतामा बसेको बैठक तथा अभिमुखीकरण कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा डडेल्धुरा इन्चार्ज पठानसिंह बोहरा प्रमुख अतिथि रहनुभएको थियो।
अभियानबारे प्रशिक्षण दिने क्रममा केन्द्रीय सदस्य बोहराले बस्तीसम्म अभियान पुर्याउन ठोस कार्ययोजना बनाउनुपर्ने आवश्यकता औंल्याए। साथै, परशुराम नगरका १२ वडाहरूमा बस्ती भेटघाट, टोल अधिवेशन र संगठन सुदृढीकरण अभियान प्रभावकारी रूपमा अघि बढाउन निर्देशन दिए।
एमाले डडेल्धुराका अध्यक्ष गजेन्द्र शाहीले तीन महिने जरा अभियान को कार्ययोजना प्रस्तुत गर्दै अभियानलाई उपलब्धिमूलक बनाउन नेता–कार्यकर्तालाई आग्रह गरे।
एमालेले देशभर तीन महिने जरा अभियान सुरु गर्ने निर्णय गरेपछि, डडेल्धुरामा पनि यसलाई प्रभावकारी बनाउन पालिका स्तरका भेला आयोजना भइरहेको छ।
अभिमुखीकरण कार्यक्रममा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य गजेन्द्र शाही, एमाले प्रदेश कमिटी सदस्य तथा परशुराम नगर इन्चार्ज हरीप्रसाद भट्ट, तथा एमाले जिल्ला कमिटी सचिवालय सदस्य देवुवा धामी ले प्रशिक्षणात्मक मन्तव्य दिएका थिए।
कार्यक्रमको विस्तृत योजना :
जरा अभियानलाई प्रभावकारी बनाउन निम्न कार्ययोजना तयार पारिएको छः
१) फागुन ७ गते – परशुराम नगरपालिका वडा नं. १, ५ र ९ मा अभिमुखीकरण कार्यक्रम
२) तीनवटा टोली गठन गरी बस्ती–बस्तीमा अभियान पुर्याउने
३) सात स्थानीय तहका ५२ वडामा एमाले नेता–कार्यकर्ताहरू सक्रिय परिचालन
नगर अध्यक्ष ओमप्रकाश जोशी का अनुसार, परशुराम नगरमा तीनवटा टोली बनाएर अभियानलाई गाउँगाउँ पुर्याउने रणनीति लिइएको छ।
