शिक्षा पूर्वाधारको पनि पूर्वाधार हो ,पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठ

sc mahendra

डडेल्धुरा : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले शिक्षा पूर्वाधारको पनि पूर्वाधार हो भन्ने धारणा राखेका छन्।

डडेल्धुराको परशुराम नगरपालिका–४, कटालस्थित भागेश्वर माध्यमिक विद्यालयको ५०औं स्थापना दिवस (स्वर्ण जयन्ती) को अवसरमा आयोजित कार्यक्रममा बोल्दै श्रेष्ठले यस्तो बताएका हुन् ।

श्रेष्ठले शिक्षा क्षेत्रको गुणात्मक विकास बिना समाजको सामाजिक(आर्थिक रूपान्तरण र विकास तथा समृद्धिको लक्ष्य हासिल गर्न नसकिने बताए। उनले भने, ‘हामीले शिक्षा प्रणाली सही बनाएनौं भने देश विकासका पूर्वाधारहरू निर्माण गर्न असम्भव हुन्छ।’
श्रेष्ठले नयाँ नेपाल निर्माण गर्न शिक्षा प्रणालीलाई समग्र रूपमा पुनर्विचार गर्नुपर्ने धारणा राखे। उनले पार्टी र सरकारमा हुँदा शिक्षाका बारेमा विभिन्न बहसहरू चलाइएको उल्लेख गर्दै, शिक्षकहरूको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

उनले भने, शिक्षकले निरन्तर अध्ययनशील हुनु जरुरी छ। सिक्ने र सिकाउने तत्परता नभएका शिक्षकले विद्यालयमा प्रभावकारी शिक्षा प्रदान गर्न सक्दैनन्। त्यसैगरी, विद्यार्थी पनि ज्ञान प्राप्त गरेर व्यवहारमा लागू गर्न तयार हुनुपर्छ, नभए तिनीहरू सच्चा विद्यार्थी हुन सक्दैनन्।

श्रेष्ठले शिक्षा प्रणालीलाई जनमुखीकरण नगरी विकास र समृद्धिको प्रक्रिया अघि बढ्न नसक्ने बताउँदै शिक्षालाई सही दिशामा लैजानुपर्ने आवश्यकता औंल्याए।
श्रेष्ठले हाल समाजमा नकारात्मक प्रवृत्ति विकसित भइरहेको उल्लेख गर्दै, विज्ञान प्रविधिको सही उपयोगबाट राष्ट्र निर्माणमा शिक्षाको भूमिका महत्त्वपूर्ण रहने बताए। उनले भने, शिक्षालाई जीवनयापनको माध्यम मात्र नभई समाज परिवर्तनको माध्यम बनाउनुपर्छ।

यदि शिक्षाले नागरिकलाई समाजप्रति जिम्मेवार बनाउन सकेन भने त्यो प्रणालीले अन्तर्विरोध सिर्जना गर्न सक्छ र समाजलाई नै गलत दिशातर्फ धकेल्न सक्छ भन्ने उनको भनाइ थियो।
श्रेष्ठले आफू संविधानसभाको सदस्य हुँदा भागेश्वर माध्यमिक विद्यालयको भौतिक पूर्वाधार विकासका लागि सांसद विकास कोषमार्फत लगानी गरेको स्मरण गर्दै, विद्यालयको विकासमा निरन्तर योगदान दिँदै आएको बताए।

कार्यक्रममा नेतादेखि कलाकारसम्मको उपस्थिति : 

स्वर्ण जयन्ती समारोहमा प्रदेशसभा सदस्य खगराज भट्ट, स्वतन्त्र सांसद तारा जोशी, सुदूरपश्चिम प्रदेशसभा सदस्य शिवसिंह ओली, परशुराम नगर प्रमुख तथा उपप्रमुख, अजयमेरु गाउँपालिकाका अध्यक्ष, आलिताल गाउँपालिकाका अध्यक्ष लगायत विभिन्न दलका नेता उपस्थित थिए।

कार्यक्रममा कलाकार छत्र शाही र काजल जोशीको सांगीतिक प्रस्तुति पनि रहेको थियो।

You might also like
Leave A Reply

Your email address will not be published.