डडेल्धुरा : सुदूरपश्चिम प्रदेशमा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियान अन्तर्गत एक लाख ४३ हजार चार सय ८९ जना किशोरीलाई खोप लगाइएको छ।
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय, दीपायल, डोटीका सूचना अधिकारी धर्मानन्द गिरीका अनुसार यो कुल लक्ष्यको ९५ प्रतिशत प्राप्ति हो। निर्देशनालयले प्रदेशका नौ वटै जिल्लामा एक लाख ५१ हजार ५९ जना किशोरीलाई खोप दिने लक्ष्य राखेको थियो।
सूचना अधिकारी गिरीका अनुसार कैलालीका ४५ हजार ८८८, कञ्चनपुरका २५ हजार ८४०, डोटीका ११ हजार ३८८, अछामका १३ हजार ८९७ र डोटीका ११ हजार ३८८ जना किशोरीहरुलाई खोप लगाइएको छ ।
यसैगरी, डडेलधुराका छ हजार ९४९, बझाङका ११ हजार ८९७, बाजुराका सात हजार ६४९, बैतडीका १२ हजार ८२८ र दार्चुलाका सात हजार १५३ किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइएको छ।
गत माघ २२ गतेदेखि सुरु भएको देशव्यापी एचपिभी खोप अभियान फागुन ७ गतेसम्म जारी रहनेछ। यस अभियान अन्तर्गत कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राहरूलाई प्राथमिकता दिइएको छ। साथै, विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई पनि खोप लगाइएको छ।
यस अभियानबाट पाठेघरको मुखको क्यान्सरको जोखिम घट्ने विश्वास गरिएको छ।
