डडेल्धुरा — नेपाल मगर संघ जिल्ला कार्यसमिति डडेल्धुराको आयोजनामा आलिताल गाउँपालिका–८ स्थित घुम्ति खेल मैदानमा ४३औँ राष्ट्रिय मगर एकता दिवस भव्य रूपमा मनाइँदैछ।
देशभरका मगर समुदायले विविध कार्यक्रमसहित आज मगर एकता दिवस मनाइरहेका छन्। मगर बाहुल्यता रहेका स्थानहरूमा सांस्कृतिक झाँकी, परम्परागत नृत्य तथा अन्य कार्यक्रमहरू आयोजना गरिएका छन्।
नेपाल मगर संघ सुदूरपश्चिम प्रदेशका सचिव पदम बहादुर डाला मगरका अनुसार डडेल्धुरामा मनाइने कार्यक्रममा नेपाल मगर संघका जिल्ला तथा पालिका तहका प्रतिनिधिहरूको विशेष उपस्थिति रहनेछ। दिवसका अवसरमा विदेशमा रहेका मगर संघसंस्थाहरूले पनि विभिन्न कार्यक्रमहरू आयोजना गरिरहेका छन्।
नेपाल मगर संघका जिल्ला अध्यक्ष राम बहादुर जर्घामगरले मगर समुदायको मौलिक संस्कृति, भाषा, रीतिरिवाज तथा ऐतिहासिक पक्षबारे नयाँ पुस्तालाई जानकारी गराउने उद्देश्यले दिवस महत्वपूर्ण रहेको बताए। सालैजो, झ्याउरे, कौडालगायत लोपोन्मुख लोकसंस्कृतिको जगेर्ना गर्न दिवसले टेवा पुग्ने उनको भनाइ छ।
मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट हुनुपर्ने सन्देशका साथ प्रत्येक वर्ष फागुन १५ गते मगर एकता दिवस मनाइँदै आएको छ। २०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा नेपाल मगर संघको स्थापना भएको दिनलाई सम्झना गर्दै मगर समुदायले यो दिवस विशेष रूपमा मनाउने गरेका छन्।
