डडेल्धुरा: नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाले सरकारी कार्यालयहरूलाई भित्तेपात्रा (क्यालेण्डर) मा प्रकाशित विज्ञापन तथा सूचनाको रकम भुक्तानी नगर्न आग्रह गर्ने निर्णय गरेको छ। सोमबार शाखाका अध्यक्ष हिक्मतबहादुर सिंहको अध्यक्षतामा सम्पन्न बैठकले उक्त निर्णय गरेको हो।
शाखाका सचिव भीमबहादुर खत्रीका अनुसार, जिल्लाका पत्रकार सम्बद्ध संघसंस्था, पत्रपत्रिका, रेडियो एफएम, अनलाइन मिडियाका नाममा प्रकाशन गरिने क्यालेण्डर सञ्चारमाध्यमअन्तर्गत नपर्ने भएकाले सरकारी कार्यालयहरूले त्यसका लागि रकम भुक्तानी गर्न नपाउने निर्णय गरिएको हो। साथै, जिल्ला प्रशासन कार्यालयमार्फत सबै सरकारी कार्यालयलाई यसबारे जानकारी गराइने भएको छ।

पछिल्लो समय क्यालेण्डर प्रकाशन गरेर हजारौँ रुपैयाँका बिलहरू सरकारी कार्यालयहरूमा भुक्तानीका लागि पेश गर्ने क्रम बढेको भन्दै सो प्रवृत्तिलाई नियन्त्रण गर्न यो कदम चालिएको महासंघले जनाएको छ।
यसैगरी, महासंघले पत्रकारहरूले प्रयोग गर्ने सवारीसाधनमा (प्रेस) लेख्ने चलन अन्त्य गर्नसमेत आग्रह गरेको छ। सञ्चारमाध्यमकै नाममा ब्लुबुक भएका सवारीसाधनबाहेक अन्य पत्रकारहरूले प्रयोग गर्ने सवारीमा (प्रेस)नलेख्न अनुरोध गरिएको छ। यो निर्णय कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराइने सचिव खत्रीले बताए।
त्यसैगरी, नेपाल पत्रकार महासंघको ७०औं स्थापना दिवस भव्य रूपमा मनाउन आवश्यक छलफल गर्ने निर्णय समेत बैठकले गरेको छ। कार्यक्रममा महासंघका प्रदेश तथा केन्द्रका प्रतिनिधि, जिल्लास्थित पत्रकार संघ,संगठनका प्रमुखहरू तथा अग्रज पत्रकारहरूको सहभागिता रहने सचिव खत्रीले जानकारी दिए।
