आलितालमा १० दिने दुना टपरी उत्पादन तालिम सुरु

sc mahendra

डडेल्धुरा : आर्थिक समृद्धिको आधार लघु उद्यममार्फत स्वरोजगार भन्ने मूल नाराका साथ डडेल्धुराको आलिताल गाउँपालिका वडा नं. ३, रक्सौनमा १० दिने दुना-टपरी उत्पादन तालिम सुरु भएको छ। ज्योति महिला समूहका करिब ३५ जना सदस्यहरूलाई लक्षित गरी गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (MEDPA) अन्तर्गत गाउँपालिकाको आयोजनामा तालिम सञ्चालन गरिएको हो।

तालिमको उद्देश्य पातका दुना-टपरी उत्पादनमा आधुनिक प्रविधि समावेश गरी महिलाहरूलाई व्यवसायिक उद्यमी बनाउनु रहेको लघु उद्यम विकास सहजकर्ता चन्द्रा ओलिले बताइन्।

आलिताल गाउँपालिका उपाध्यक्ष मैना कुमारी रावलले प्लास्टिकजन्य पदार्थको न्यूनीकरण गर्दै स्थानीय स्रोत-साधनको सदुपयोग गरी उद्यमशीलता प्रवर्द्धन गर्ने पालिकाको कार्ययोजना रहेको उल्लेख गरिन्।

उनले तालिम केवल प्रविधि हस्तान्तरणका लागि मात्र नभई स्थानीय स्तरमै उत्पादन क्षमता वृद्धि गर्दै दिगो विकासलाई टेवा पुर्‍याउने अवसर भएको बताइन्। १० दिने तालिमको सम्पूर्ण लाभ लिन सहभागीहरूले इच्छाशक्ति आवश्यक पर्ने भन्दै, तालिमपछि पनि कार्यान्वयनमा जोड दिनुपर्नेमा उनले विशेष जोड दिइन्।

वडा नं. ३ का अध्यक्ष बल बहादुर बुढामगरले निरन्तर प्रयासपछि सीप विकास तालिम सञ्चालन गर्न सफल भएको भन्दै, सरकारले प्रदान गरेको अनुदानका मेसिनहरूको उचित संरक्षण गर्दै उत्पादनलाई प्रवर्द्धन गर्न आग्रह गरे। विशेषगरी महिलाहरूलाई आफ्नो अतिरिक्त समय सदुपयोग गरी आर्थिक उपार्जनमा लाग्न उनले अनुरोध गरे।

कार्यक्रमका प्रशिक्षकहरू समिक्षा थापा र भोजराज अवस्थीले तालिम सहजीकरण गर्नेछन्। आयोजकले समूहमार्फत उद्यम थालनी गरेमा सफलता प्राप्त हुने विश्वास व्यक्त गरेको छ। यो तालिमले स्थानीय उद्यमीहरूलाई उत्पादन प्रक्रियामा दक्ष बनाउनुका साथै रोजगारी सिर्जना गर्ने र वातावरणमैत्री उत्पादन प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।

You might also like
Leave A Reply

Your email address will not be published.