
डडेल्धुरा, चैत १७ – डडेल्धुरामा सम्पन्न द्वारिकादेवी ठकुरानी सुदूरपश्चिम प्रदेश अन्तर पालिकास्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि चुरे गाउँपालिका, कैलालीले जितेको छ।
आज (आइतबार) सम्पन्न फाइनल खेलमा चुरेले नौगाड गाउँपालिका, दार्चुलालाई ३-० को सोझो सेटमा पराजित गर्दै उपाधि चुमेको हो। जिल्ला भलिबल संघ डडेल्धुराका अध्यक्ष राजेन्द्र ठगुन्नाले चुरेले उपाधिसँगै नगद १ लाख १ सय ११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको जानकारी दिए।



त्यस्तै, उपविजेता बनेको नौगाड गाउँपालिकाले ५१ हजार १ सय ११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो। अमरगढी नगरपालिकालाई पराजित गर्दै परशुराम नगरपालिका तृतीय स्थानमा रह्यो। परशुरामले २५ हजार १ सय ११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
जिल्ला भलिबल संघ डडेल्धुराको आयोजनामा गत शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा डडेल्धुराका तीन, बैतडी, दार्चुला र कैलालीका एक/एक गरी ६ टिमको सहभागिता रहेको थियो।
