
२६ चैत, । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ भरवलिया गाउँमा पिकअप भ्यान दुर्घटना हुँदा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ भने अन्य २२ जना घाइते भएका छन् ।

लुम्बिनी सांस्कृतिक नगरपालिका–७ स्थित शिवगढिया मोडमा सोमबार साँझ लु१च २७६३ नम्बरको पिकअप भ्यान पल्टिंदा गैंडहवा गाउँपालिका–१ शिवपुरवाकी १२ वर्षीया अस्मिता यादव र शुद्धोधन गाउँपालिका–६ मानमटेरियाकी ४८ वर्षीया जानमती यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।


घाइतेमध्ये तीन जनाको लुम्बिनीस्थित लाइफ केअर अस्पताल र १९ जनाको भैरवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज रानीगाउँमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ ।
घटना तीव्र गतिका कारण मोडमा पुगेपछि अनियन्त्रित भई पल्टिएको थियो । भ्यानमा सवार २४ जना यात्रु लुम्बिनीस्थित मायादेवी मन्दिरबाट मुण्डन संस्कार सकेर घर फर्कने क्रममा दुर्घटना भएको बताइएको छ ।
