
धनगढीः सुदूरपश्चिम प्रदेशमा आज नयाँ वर्षको अवसरमा परम्परागत बिसु पर्व उल्लासका साथ मनाइँदैछ।


सांस्कृतिक पहिचानको रूपमा रहेको बिसु पर्व हरेक वर्ष वैशाख १ गते मनाइन्छ। यो पर्वमा एकअर्कामाथि सिस्नो छ्याप्ने, मिठा परिकार खाने, र परम्परागत खेल तथा नाचगान गर्ने चलन छ।

बिसु पर्व मनाउन घरबाहिर रहेका मानिसहरू गाउँ फर्कने चलन छ। पर्वको दिन बिहानै नुहाएर सिस्नो छ्याप्ने परम्परा रहिआएको छ। सिस्नो छ्याप्दा शरीरका विष निस्किने र नयाँ वर्षमा नकारात्मक शक्तिबाट बचिने धार्मिक विश्वास रहेको छ।
पर्वको अवसरमा देवर–भाउजू, साली–भिनाजु, नन्द–भाउजू, फुपू–साली जस्ता नातागोताबीच सिस्नो छ्याप्ने रमाइलो चलन छ। साथै, लौरो नचाउने, बाघ–भालुको अभिनय गर्ने र देउडा नाच्ने परम्परा पनि आज विभिन्न समुदायमा देखिएको छ।
