बझाङमा असारभित्रै भूमिहीन र सुकुम्बासीलाई लालपुर्जा वितरण हुने

sc mahendra

रमेश बहादुर सिंह | बझाङ
जिल्ला भूमि समस्या समाधान आयोग बझाङका अध्यक्ष प्रयागराज जोशीले जिल्लाका भूमिहीन, सुकुम्बासी तथा अवस्थित व्यक्तिहरूलाई असार महिनाभित्रै लालपुर्जा वितरण गर्ने योजना रहेको बताएका छन्।

दुर्गाथली गाउँपालिकामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै जोशीले १२ वटै स्थानीय तहबाट पहिचान र छनोटको प्रक्रिया अघि बढाइएको जानकारी दिए। नेपाल सरकारले घर निर्माणका लागि प्रति परिवार एक हजार वर्गमिटर जग्गा उपलब्ध गराउने मापदण्ड बनाएको पनि उनले स्पष्ट गरे।

जोशीले नागरिकलाई वडा कार्यालयमा पुगेर चाँडो फारम भर्न आग्रह गरे। उनका अनुसार अघिल्लो आयोगका पालामा जिल्लाभर जम्मा ९ सयवटा मात्र फारम संकलन भएको थियो, जसमध्ये ६ सय केदारस्यु गाउँपालिकाबाट प्राप्त भएका थिए। उनले जग्गा वितरण गर्दा सरकारले तोकेको मापदण्डअनुसार केही राजस्व लाग्ने बताए।

कार्यक्रममा जिल्ला नापी कार्यालय प्रमुख दिपेन्द्र गुरधार्मीले पहिचान र प्रक्रिया सम्बन्धी प्राविधिक जानकारी प्रस्तुत गरे।

गाउँपालिका उपाध्यक्ष जनक बहादुर दौल्यालले दलित, भूमिहीन, सुकुम्बासी तथा अवस्थित व्यक्तिहरूलाई कानुनी प्रक्रियाअनुसार सहयोग गर्न गाउँपालिका तयार रहेको बताए। साथै, उनले स्थानीय तहको भूमिका प्राथमिक हुनुपर्ने धारणा राखे।

कार्यक्रममा भूमि आयोग बझाङका अध्यक्ष जोशी, दुर्गाथली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बम्म बहादुर भण्डारी, आयोगका जिल्ला सदस्य डम्बर बहादुर सिंह र शारदा कुमारी बिक, नापी प्रमुख गुरधार्मी, विभिन्न वडा अध्यक्ष तथा राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन मकर मण्डेलले गरेका थिए।

You might also like
Leave A Reply

Your email address will not be published.