आलिताल गाउँपालिका ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका’ घोषित

sc mahendra

डडेल्धुरा, सोमबार — सुदूरपश्चिमको डडेल्धुरा जिल्लास्थित आलिताल गाउँपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका’ घोषणा गरिएको छ।

सोमबार गाउँपालिकाको सभाहलमा आयोजित एक विशेष कार्यक्रममा पालिकालाई औपचारिक रूपमा उक्त उपाधि प्रदान गरिएको हो।

जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख गगनसिं भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष शेरसिं पार्कीले गरेका थिए।

अध्यक्ष पार्कीले गाउँपालिकाका आठवटै वडाबाट सबै लक्षित बालबालिकाले पूर्ण खोप प्राप्त गरिसकेपछि आवश्यक प्रमाणिकरण र अनुगमनसमेत पूरा भई पालिकालाई पूर्ण खोप पालिका घोषणा गरिएको जानकारी दिए। उनले स्वास्थ्य नीति अन्तर्गत हरेक वर्ष सञ्चालन हुँदै आएको पूर्ण खोप कार्यक्रमलाई आगामी दिनहरूमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाए।

कार्यक्रमका विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले यस वर्ष डडेल्धुरामा सबैभन्दा पहिले आलिताल गाउँपालिकालाई पूर्ण खोप पालिका घोषणा गर्न सफल भएकोमा धन्यवाद ज्ञापन गरे।

प्रमुख अतिथि भण्डारीले बालबालिकाको पूर्ण खोप सुनिश्चित हुनु केवल पालिकाको मात्र होइन, समग्र सरकारको उपलब्धि भएको उल्लेख गर्दै खोपको महत्वलाई सामान्य रूपमा नलिन सबैलाई आग्रह गरे। उनले खोपका कारण विगतमा महामारी र सामाजिक बहिष्कारको अवस्था हट्दै गएको र अब समाजमा सकारात्मक परिवर्तन आएको बताए। साथै, सम्पूर्ण मापदण्ड पूरा गरी पालिकाले दिगोपनासहितको खोप सुनिश्चितता प्राप्त गरेकोमा धन्यवाद प्रकट गरे।

उनले खोप बालबालिकाको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै, खोपका कारण मृत्यु दर घटेको, स्वास्थ्य जीवनयापनमा सुधार आएको र यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने सुझाव दिए।

कार्यक्रमका सञ्चालक एवं पालिका स्वास्थ्य शाखाका प्रमुख धनबहादुर क्षेत्रीका अनुसार पालिकाका सम्पूर्ण वडामा पूर्ण खोप सुनिश्चितता प्रमाणीकरण सम्पन्न भइसकेको छ। चालु आर्थिक वर्षमा १६ देखि ५९ महिना उमेर समूहका १,१३८ जना बालबालिकाले खोप प्राप्त गरिसकेको जानकारी उनले दिए।

आलिताल गाउँपालिकामा हाल करिब ३,५०० घरधुरी छन्। पालिकामा २ वटा स्वास्थ्य चौकी, ६ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र, २ वटा सामुदायिक स्वास्थ्य सेवा इकाई, १५ वटा नियमित खोप केन्द्र, ६ वटा गाउँघर क्लिनिक तथा ५५ जना महिला स्वास्थ्य स्वयंसेविका मार्फत सेवा सञ्चालन भइरहेको छ।

पालिकाले २०७० सालदेखि नै निरन्तर पूर्ण खोप सुनिश्चितता अभियान सञ्चालन गर्दै आएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.