
बाजुरा : बाजुराको जगन्नाथ गाउँपालिका–२ काडाकोटमा आज बिहान भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार, दुर्घटनामा नेपाल टेलिकम दूरसञ्चार प्राधिकरणका प्रमुख लोकबहादुर बिष्ट, चालक कर्ण महत, र बडीमालिका नगरपालिका–७ ढम्कने निवासी रवी धामीको ज्यान गएको हो।


मृतकहरूको उमेर खुलाइएको छैन। दुर्घटनामा घाइते हुनेहरूमा बुढीनन्दा नगरपालिका–२ का अन्दाजी २५ वर्षीय नन्दबहादुर तिरुवा र २२ वर्षीय लोकेन्द्र तिरुवा रहेका छन्। उनीहरूलाई उद्धार गरी जगन्नाथ गाउँपालिकाको सहयोगमा कोल्टी आधारभूत अस्पताल पठाइएको छ।
बा ५ च २२०९ नम्बरको जीप नेपाल दूरसञ्चार कार्यालय बाजुराका प्रमुखसहितको टोली लिएर जगन्नाथस्थित टावर मर्मतका लागि गइरहेको थियो। सोही क्रममा जीप करिब ८० मिटर तल सडकबाट खसेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनाको थप अनुसन्धान जारी छ।



