
डडेल्धुरा, आलिताल — नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय आलिताल अन्तर्गत केन्द्र नम्बर १७ मा आबद्ध सक्रिय सदस्य स्वर्गीय श्रीमती कमली देवी कामीको असामयिक निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै संस्थाले उहाँको परिवारलाई बीमा रकम हस्तान्तरण गरेको छ।

स्वर्गीय कमली देवी कामीले संस्थाबाट लिएको कर्जा तथा सूर्यज्योति लाइफ इन्स्योरेन्ससँगको सम्झौता अनुसार म्यादी जीवन बीमाबाट प्राप्त बीमा दाबी रकम रु २ लाख ५० हजार र क्रिया खर्च स्वरूप रु २५ हजार गरी जम्मा रु २ लाख ७५ हजार बराबरको रकम निज सदस्यकी हकवाला छोरी श्रीमती दिपा कामीलाई हस्तान्तरण गरिएको हो।

उक्त कार्यक्रम नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाका सुदूरपश्चिम प्रदेश अन्तर्गत अमरगढी क्लस्टर प्रमुख श्री डण्डीराम बोहराको उपस्थितिमा सम्पन्न भयो।
यस किसिमको बीमा सुरक्षा व्यवस्थाले सदस्यहरूलाई कठिन घडीमा आर्थिक राहत र सहारा पुग्ने विश्वास संस्थाले व्यक्त गरेको छ। दुःखद क्षणमा पनि यस्तो सहयोगले प्रभावित परिवारलाई केही हदसम्म राहत महसुस गराएको छ। कार्यक्रममा सहभागीहरूले लघुवित्त संस्थाको यस्तो पहलले सदस्यहरूमा भरोसा र आत्मविश्वास थप बलियो बनाउने धारणा व्यक्त गरेका थिए।



