
डडेल्धुरा — जिल्लाकै पहिलो सामुदायिक रेडियो ‘आफ्नो एफएम १०४.८ मेगाहर्ज’ ले आफ्नो १७ औं स्थापना दिवस विविध सामाजिक कार्य गर्दै सम्पन्न गरेको छ। एफएमले स्थापना दिवसको अवसरमा ५० सेट सोलार रेडियो वितरण गर्नुका साथै विद्यालय र विपन्न परिवारलाई आवश्यक सामग्री सहयोग गरेको हो।


नवदुर्गा गाउँपालिका–१ मा रहेको भैरव प्राथमिक विद्यालयलाई विद्यालयको मागअनुसार खेलकुद सामग्री वितरण गरिएको छ। सामग्रीमा फुटबल, भलिबल, मादल, ट्र्याकसुट, लुडो, डोरी, पजल, रिङ लगायतका सामग्री समावेश छन्। विद्यालयका प्रधानाध्यापक चक्रबहादुर बोहराले रेडियोको सहयोगप्रति आभार व्यक्त गर्नुभयो।


त्यस्तै, डडेल्धुराका चार विपन्न परिवारलाई खाद्यान्न राहत प्रदान गरिएको छ। राहत सामग्रीमा चामल, दाल, तेल, चिनी र नून समावेश गरिएको थियो। लाभग्राहीहरू नवदुर्गा–१ की नारु दमाइ, गन्यापधुरा–२ का हिक्मत कार्की तथा अमरगढी नगरपालिकाका दुई परिवार रहेका छन्।
कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष शेरबहादुर साउदले सामुदायिक सेवामा रेडियो ‘आफ्नो एफएम’ को योगदानको प्रशंसा गर्दै धन्यवाद व्यक्त गर्नुभयो। संयोजक विजय कुमार मानन्धरले एफएमको १८ वर्षे यात्रामा सूचना प्रवाहसँगै सामाजिक उत्तरदायित्व पूरा गर्न निरन्तर क्रियाशील रहेको बताए।
रेडियोले प्रत्येक वर्ष वार्षिकोत्सवको अवसरमा विभिन्न सामाजिक कार्य गर्दै आएको छ। अघिल्ला वर्षहरूमा बालगृह, विद्यालय र कारागारमा सामग्री तथा राहत वितरण गरिएको थियो।

२०७५ साल जेठ ३२ गते स्थापना भएको रेडियो ‘आफ्नो एफएम’ हाल डडेल्धुरा, ओखलढुंगा, रुकुम, चितवन, दाङ र जनकपुरसहित ६ स्थानबाट प्रसारण भइरहेको छ। संयोजक मानन्धरका अनुसार अब बाँकी दुई प्रदेशमा पनि सेवा विस्तार गरी सातै प्रदेशबाट सामाजिक रूपान्तरणमा योगदान पुर्याउने लक्ष्य रहेको छ।



