
बैतडी । बैतडीमा अमेरिकन फौजी किराको प्रकोप तीव्र रूपमा फैलिएको छ। मुख्य खाद्यबालीको रूपमा रहेको मकैमा किराले व्यापक क्षति पुर्याएपछि किसानहरू चिन्तित बनेका छन्।
लामो समयको खडेरी पछि किराको सक्रियता अझ बढेको कृषि विज्ञहरूको भनाइ छ। कृषि ज्ञान केन्द्र बैतडीका कृषि प्रचार अधिकृत नरेन्द्रबहादुर चन्दका अनुसार किराको प्रकोप जिल्लाका सबै स्थानीय तहहरूमा देखिएको छ।

ूकिरा दिनभर मकैको बोटमा लुकेको हुन्छ र रात पर्नासाथ घोगा, डाँठ, पात र टुप्पा खाएर बाली नष्ट गर्छ,चन्दले बताए । हामीले किसानहरूलाई विषादी छर्कन सुझाव दिएका छौँ।
प्रभावित क्षेत्रमा मकैबाली सखाप भइरहेका छन्। विशेषगरी मकैको पकेट क्षेत्रहरूमा किराले ठूलो नोक्सानी गरेको छ। दोगडाकेदार गाउँपालिका–२ की स्थानीय दीपिका कार्कीका अनुसार गाउँका अधिकांश किसानले लगाएको मकै किराले सखाप पारेको छ।

ूबाली नष्ट हुन थालेपछि हामीले गाउँपालिकाको कृषि शाखासँग विषादीको माग गरेका छौँ, उनले भनिन्।
गाउँपालिकाका कृषि शाखा प्रमुख रामबहादुर विष्टका अनुसार, किराको प्रकोपबारे गुनासो आएपछि वडास्तरबाट कृषि प्राविधिक परिचालन गर्ने प्रयास भइरहेको छ।

कृषि ज्ञान केन्द्र बैतडीले ‘इमामेक्टिन बेन्जोएट’ नामक विषादी वितरण गर्न थालेको छ। प्रचार अधिकृत चन्दका अनुसार सबै किसानले विषादी प्रयोग गरेमा मात्र प्रकोप नियन्त्रणमा ल्याउन सकिने छ।
बैतडी जिल्लामा हाल १३ हजार हेक्टर जमिनमा मकै खेती भइरहेको छ। लगातार तेस्रो वर्ष अमेरिकन फौजी किराले मकैबालीमा क्षति पुर्याउँदै आएको हो।



