आलिताल गाउँपालिकाद्वारा ५३ करोड २७ लाखको बजेट सार्वजनिक

sc mahendra

डडेल्धुराको आलिताल गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ५३ करोड २७ लाख २० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बजेट गाउँसभामा प्रस्तुत गर्दै गाउँपालिकाले आगामी वर्षको समग्र विकास, सेवा प्रवाह र पूर्वाधार निर्माणमा केन्द्रित हुने जनाएको छ।

प्रस्तावित कुल बजेटमध्ये ३१ करोड २० लाख २५ हजार रुपैयाँ चालु खर्चका लागि छुट्याइएको छ भने २२ करोड ६ लाख ७० हजार रुपैयाँ पुँजीगत खर्चतर्फ विनियोजन गरिएको छ। चालुतर्फ ५८.५७ प्रतिशत र पुँजीगततर्फ ४१.४३ प्रतिशत खर्च विनियोजन गरिएको यो बजेट अघिल्लो आर्थिक वर्षको तुलनामा ४.६६ प्रतिशतले बढी हो।

उक्त बजेट कार्यान्वयनका लागि आवश्यक स्रोतमध्ये संघीय सरकारबाट समानीकरण, ९ करोड ७ लाख सशर्तबाट १७ करोड९० लाख,  विशेष अनुदान तर्फ ५ करोड ५७ लाख  र राजस्व बाँडफाँट ११  करोड ४९ लाख २५ हजार प्राप्त हुने अनुमान गरिएको छ।

सुदूरपश्चिम प्रदेश सरकारबाट शशर्त अनुदानबाट ३ करोड ८० लाख, विशेष अनुदान ७५ लाख , सम्पुरक अनुदान ९४ लाख समानिकरण अनुदानबाट ७७ लाख ९३ हजार , प्रदेश राजस्व बाडफाडबाट ३२ लाख १ हजार  प्राप्त हुने जनाइएको छ। त्यस्तै, गाउँपालिकाको आन्तरिक स्रोतबाट १  करोड ४५ लाख रुपैयाँ संकलन गरिने लक्ष्य लिइएको छ।

गाउँपालिका उपाध्यक्ष मैना कुमारी रावल (बोहरा)ले गाउँसभामा प्रस्तुत गरेको बजेटमा पूर्वाधार विकास, सेवा प्रवाह, ऊर्जा व्यवस्थापन, सांस्कृतिक प्रवर्द्धन, प्रशासनिक सुधार, शिक्षा, स्वास्थ्य, कृषि र सामाजिक सुरक्षालगायतका विविध कार्यक्रम समेटिएका छन्।

बजेटमा धार्मिक तथा सांस्कृतिक सम्पदा संरक्षण, पर्यटन प्रवर्द्धन, ऐतिहासिक मन्दिरको संरक्षण तथा सम्बर्द्धनका लागि आवश्यक कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ। पर्यटकीय सम्भावना भएका स्थलहरूको प्रवर्द्धन, स्थानीय कला, भेषभूषा र सांस्कृतिक विविधताहरूलाई दस्तावेजीकरण गर्दै सम्बद्ध संरचना निर्माणका लागि रकम विनियोजन गरिएको छ।

सडक पूर्वाधार सुधारका लागि सबै वडामा ट्र्याक खोल्ने, स्तरोन्नति गर्ने तथा नियमित मर्मतसम्भारका कामलाई प्राथमिकतामाराखिएको छ। दुर्गम क्षेत्रमा यातायात सहज बनाउन विशेष योजना ल्याइने जनाइएको छ।

ऊर्जा क्षेत्रमा वैकल्पिक ऊर्जा प्रयोगलाई प्रोत्साहन गर्दै सौर्य प्रणाली, लघु जलविद्युत्, गोबरग्याँस जस्ता योजना सञ्चालन गरिनेछ। सार्वजनिक भवन निर्माण अन्तर्गत गाउँपालिकाको प्रशासनिक भवन, वडा कार्यालय भवन लगायत संरचनाहरूको निर्माण तथा मर्मतका लागि आवश्यक बजेट छुट्याइएको छ।

नविनीयन प्रविधिको प्रयोग गर्दै बस्तीको उज्यालो कायम राख्ने, विद्युत् सशक्तिकरण तथा बैकल्पिक उपायमार्फत ऊर्जा आपूर्ति सुनिश्चित गरिने जनाइएको छ। त्यस्तै, वन संरक्षण तथा प्राकृतिक स्रोतको दिगो व्यवस्थापन गर्न आवश्यक कार्यक्रमहरू लागू गरिनेछ।

विपद् व्यवस्थापन र न्यूनीकरणका लागि गाउँपालिकाले विशेष व्यवस्था गर्ने भएको छ। यस अन्तर्गत कोष गठन, योजना निर्माण तथा आवश्यक पूर्वतयारीका कार्यक्रम समावेश गरिएका छन्।

वडागत योजना तथा कार्यक्रम अन्तर्गत ८ वटै वडामा प्रशासनिक तथा पुजिगत कार्यक्रमका लागि झण्डै ३ करोड रुपैयाँ विनियोजन गरिएको छ।

गाउँपालिकाको प्रशासनिक खर्च तथा नियमित खर्चका लागि आवश्यक रकम छुट्याइएको छ। सेवाप्रवाह सुधार गर्न सेवा केन्द्रहरूमा इन्टरनेट सुविधा विस्तार, सेवा प्राप्तिका लागि क्यू सिस्टम, मासिकरुपमा सेवा मूल्याङ्कन लगायतका कार्यक्रम लागू गरिने जनाइएको छ।

शिक्षा, युवा, स्वास्थ्य, कृषि, रोजगारी, महिला तथा बालबालिकाको सशक्तिकरण, सामाजिक सुरक्षा लगायत विभिन्न शाखाहरूको योजनाहरूलाई निरन्तरता दिँदै कार्यक्रम लागू गरिनेछ। गाउँपालिकाको समग्र आकांक्षा र आवश्यकताको सम्बोधन गर्ने खालका योजनाहरूलाई प्राथमिकतामा राखी बजेट विनियोजन गरिएको जनाइएको छ।

बजेट निर्माण प्रक्रिया सबै सरोकारवालाको सहभागितामार्फत पारदर्शी ढंगले सम्पन्न गरिएको गाउँपालिकाले जनाएको छ। राजनीतिक दल, प्रदेशसभा सदस्य, निजी क्षेत्र, संघसंस्था, सञ्चारकर्मी, विदेशमा रहेका नागरिकलगायतको सुझाव र सहभागिता बजेट निर्माणमा उपयोगी भएको भन्दै गाउँपालिकाले सबैलाई धन्यवाद दिएको छ।

गाउँपालिकाले यो बजेटलाई आत्मनिर्भर र समृद्ध गाउँपालिका निर्माणतर्फको एउटा महत्वपूर्ण आधार मानेको छ। बजेटको सफल कार्यान्वयनका लागि कर्मचारी, जनप्रतिनिधि, नागरिक समाज र सबै तहको सहकार्य आवश्यक रहेको भन्दै गाउँपालिकाले सहयोगको अपिल गरेको छ।

You might also like
Leave A Reply

Your email address will not be published.