अछाम – अछामको पन्चदेवल विनायक नगरपालिका–८ बारलामा ढुङ्गा खस्दा छाउपडी बसिरहेका दुई जनाको ज्यान गएको छ।
मृतकमध्ये २८ वर्षीया निम खनाल र मङ्गलसेन नगरपालिका–६ की ७ वर्षीया कविता भण्डारी रहेका छन्। अछाम प्रहरी प्रमुख डिएसपी ओमप्रकाश खनालका अनुसार घटनामा मङ्गलसेन–६ की रत्नकला भण्डारी गम्भीर घाइते भएकी छन्। उनको टाउकोमा चोट लागेकाले उपचारका लागि नेपालगञ्ज लैजाने तयारी भइरहेको छ।
गएराति चुरकुली भन्ने स्थानमा महिनावारी भएकी महिलालाई घरभित्र बस्न नदिई आँगनमा त्रिपाल मुनि सुताइएको थियो। सो क्रममा माथिबाट ढुङ्गा खस्दा तीन जनामध्ये दुई जनाको मृत्यु भएको हो।
हाल अछाममा निरन्तर वर्षा भइरहेको छ। छाउगोठ भत्काइएपछि महिनावारी भएका महिलाहरू अझै पनि त्रिपाल वा ओडारमा बस्ने गरेका छन्। स्थानीय परम्पराअनुसार महिनावारी भएकी महिलाले घरमा नबस्ने, खानेकुरा र गाईबस्तु नछुने प्रथा छ, जसलाई छाउपडी भनिन्छ।
