रमेश बहादुर सिंह, बझाङ: बझाङ विकासको मेरुदण्ड मानिने जयपृथ्वी राजमार्ग अहिले हरेक खण्डमा खाल्डाखुल्डीले भरिँदै गएको छ। स्थानीयवासीले यसलाई राजमार्ग भन्दा पनि “कष्टमार्ग” जस्तै भएको टिप्पणी गरेका छन्।
वर्षा लागेपछि सडक हिलो र पहिरोले अवरुद्ध हुन्छ भने हिउँदमा धुलाम्य र खाल्डाखुल्डीले भरिन्छ। यही बाटो भएर बिरामीलाई अस्पताल पुर्याउँदा ज्यान जाने डर हुने गरेको छ। तरकारी तथा अन्न बजारसम्म पुर्याउन नसक्दा किसानलाई घाटा बेहोर्नु परेको छ। विद्यार्थीले दैनिक यात्रा गर्दा पढाइभन्दा बढी असुविधा भोग्नुपरेको गुनासो छ।
यात्रु मिलन विष्ट भन्छन्, “सडक भन्नासाथ सहज यात्रा सम्झिनुपर्छ तर बझाङमा उल्टै दु:ख सम्झनुपर्छ। बसमा एक घण्टाको बाटो तीन–चार घण्टा लाग्छ।”
त्यस्तै किसान दलबहादुर रावलले भने, “जति राम्रो उत्पादन भए पनि बजार पुर्याउन सकिँदैन। बाटो खाल्डाखुल्डीले भरिएपछि गाडी आउन चाहँदैनन्, हामीलाई घाटा मात्र हुन्छ।”

सडकको दयनीय अवस्थाबारे पटक–पटक विभिन्न सञ्चारमाध्यमले समाचार प्रकाशित गरे पनि ठोस सुधार नभएको स्थानीयको आरोप छ। उनीहरूले संघीय र प्रदेश सांसदलाई लक्षित गर्दै प्रश्न गरेका छन् — “माननीय सांसदज्यू, यो जयपृथ्वी राजमार्गको स्तरोन्नति कहिले हुन्छ?”
हरेक निर्वाचनमा यस सडकलाई प्राथमिकता दिने घोषणा भए पनि कार्यान्वयनमा भने परिणाम देखिएको छैन।

स्थानीयवासीले राजमार्ग स्तरोन्नतिलाई तत्काल प्राथमिकतामा राख्न, संघ र प्रदेश सरकारबीच समन्वय गरी पारदर्शी रूपमा बजेट खर्च गर्न तथा सांसदहरूले प्रत्यक्ष पहल गरेर द्रुत गतिमा निर्माण अघि बढाउन माग गरेका छन्।
तिनीहरूको भनाइमा, खोक्रो भाषण होइन, अब ठोस परिणाम देख्ने समय आएको छ। जयपृथ्वी राजमार्ग खाल्डाखुल्डीमुक्त नबनेसम्म बझाङको विकास सहज नहुने उनीहरूको धारणा छ।
