काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनको लिग चरण सकिएको छ। अब पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स मङ्गलबार दिउँसो ४ बजे त्रिवि मैदानमा भिड्दै छन्।
सुदूरपश्चिमको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्नेछन् भने विराटनगर सन्दीप लामिछानेको नेतृत्वमा उत्रिनेछ। विजेता टिम सिधै फाइनल पुग्नेछ । पराजित टिमले काठमाण्डु–लुम्बिनीबीचको इलिमिनेटर विजेतासँग खेल्नेछ।
सुदूरपश्चिमका प्रमुख खेलाडी
विनोद भण्डारी ७ खेलमा २०१ रनसहित चम्किएका छन्। आरिफ शेख (१६० रन), डीएस ऐरी (१४६), क्रिस लिन (१४३) ले ब्याटिङ मजबुत बनाएका छन्। बलिङमा अविनाश बोहरा १४ विकेटसहित उत्कृष्ट छन्। हर्मित सिंह (१०) र कुगेलाइन (८) ले साथ दिएका छन्। सुदूरका लागि लिग चरणमा खेलेका क्रिस लिन र जोश ब्राउन प्लेअफमा उपलब्ध हुने छैनन् । उनीहरूको स्थानमा भारतका शेल्डन ज्याकसन र पाकिस्तानी मूलका अमेरिकी क्रिकेटर मुख्तार अहमद भित्र्याइसकेको छ ।
विराटनगरका प्रमुख खेलाडी
कप्तान सन्दीप लामिछाने १५ विकेटसहित बलिङ लीड गर्दै छन्। डी लाङ (८ विकेट) र रन्जाने (५ विकेट) बलिङमा प्रभावशाली छन्। ब्याटिङतर्फ बसिर अहमद १७६ रनसहित शीर्षमा छन्। लोकेश बमले १६५ रन, मार्टिन गप्टिलले १२१ रन र फाफ डुप्लेसिसले पछिल्लो खेलमा अर्धशतक प्रहार गरेका छन्। यता विराटनगरका लागि भने डुप्लेसी, हिजलेट, गप्टिल र डे लाङ अन्तिमसम्मै उपलब्ध हुनेछन् ।
समूह चरणको अन्तिम खेलमा पराजय भोगेको सुदूरपश्चिमले क्वालिफायरमा विराटनगरसँग बदला लिने लक्ष्य बनाएको छ।
