डडेल्धुरा : आलिताल गाउँपालिकामा अवस्थित चेतना साना किसान कृषि सहकारी संस्था लिमिटेडको १३औँ वार्षिक साधारण सभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। आलिताल गाउँपालिकाको प्राङ्गणमा सम्पन्न सभाबाट प्रेमबहादुर घर्तीमगर अध्यक्षमा सर्वसम्मत रूपमा चयन भएका छन्।
साधारण सभाले नयाँ कार्यसमिति चयन गर्दै उपाध्यक्षमा पुनम ठडालीमगर र सचिवमा सबिना दमाई चयन गरेको छ। त्यस्तै, कोषाध्यक्षमा मानमती साउद चयन भएकी छन् भने सदस्यहरूमा भीमबहादुर मडै, हेमन्त कार्की, शर्मानन्द जोशी र पार्वती मडै सर्वसम्मत रूपमा चयन भएका छन्।
यसैगरी, लेखा समिति संयोजकमा कृष्णदत्त जोशी चयन भएका छन् भने सदस्यहरूमा कल्पना मडै र पार्वतीकुमारी रानामगर चयन भएका छन्।

साधारण सभामा प्रस्तुत प्रतिवेदनअनुसार करिब २ हजार २ सय सदस्य आबद्ध रहेको यस सहकारी संस्थाले हाल साढे चार करोड रुपैयाँभन्दा बढीको कारोबार गर्दै आएको जानकारी दिइएको छ। सहकारीले कृषकहरूलाई वित्तीय सेवा, कृषि कर्जा, उत्पादन प्रवर्द्धन तथा स्वरोजगारमा उल्लेखनीय सहयोग पुर्याउँदै आएको छ।
पालिकाको कृषि क्षेत्रमा अतुलनीय योगदान दिँदै आएको यस संस्थाले हाल आलिताल गाउँपालिकाका सबै ८ वटै वडामा सेवा विस्तार गरिरहेको जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि आलिताल गाउँपालिका अध्यक्ष शेरसिंह पार्कीले सहकारीले कृषि क्षेत्रमा पुर्याएको योगदानको खुलेर प्रशंसा गर्दै आगामी दिनमा गाउँपालिकाका तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा आलिताल गाउँपालिका उपाध्यक्ष मैना कुमारी रावल, डडेल्धुरा बार एसोसिएसनका अध्यक्ष तुलाराम बोहरा, विभिन्न वडाका वडा अध्यक्षहरू, समाजसेवी, राजनीतिक दलका प्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
साधारण सभामा तत्कालीन अध्यक्ष कृष्णदत्त जोशी, संस्थाकी प्रबन्धक भविकुमारी थापा तथा तत्कालीन लेखा समिति संयोजक मानबहादुर महराले आ–आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको प्रगति, चुनौती र आगामी कार्ययोजनाबारे जानकारी गराएका थिए।

कार्यक्रमको अन्त्यमा नवनिर्वाचित अध्यक्ष घर्तीमगरले सहकारीलाई अझ व्यवस्थित, पारदर्शी र सदस्य–मैत्री बनाउँदै कृषि उत्पादन र किसानको आर्थिक सशक्तीकरणमा केन्द्रित रहने प्रतिबद्धता व्यक्त गरे।
