किसान बहुउद्देश्यीय सहकारी आलितालको ३१औँ वार्षिक साधारणसभा सम्पन्न

sc mahendra

डडेल्धुरा : आलिताल गाउँपालिका–८ गोदामस्थित किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ३१औँ वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न भएको छ। आइतबार सम्पन्न साधारणसभाको अध्यक्षता सहकारीका सञ्चालक समिति सदस्य मनिराम न्याउपानेले गर्नुभएको थियो भने आलिताल गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्की प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

साधारणसभामा सहकारीको वार्षिक प्रगति, आर्थिक अवस्था तथा आगामी कार्ययोजनाबारे विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि अध्यक्ष पार्कीले सहकारीहरूले ग्रामीण अर्थतन्त्र सुदृढीकरण, किसानको जीवनस्तर उकास्न तथा आत्मनिर्भरता बढाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो। उहाँले सहकारीको पारदर्शिता, सुशासन र सदस्य–केन्द्रित सेवामा अझ जोड दिनुपर्ने आवश्यकता औंल्याउनुभयो।

उत्कृष्ट केन्द्र तथा विद्यार्थी सम्मान
वार्षिकोत्सवका अवसरमा सहकारीअन्तर्गत सञ्चालित उत्कृष्ट केन्द्रलाई सम्मान गरिएको छ। उक्त अवसरमा परशुराम नगरपालिका–१२ डल्लेगडामा रहेको केन्द्र नं. २९८० (दिपावली किसान महिला विकास केन्द्र) उत्कृष्ट केन्द्रका रूपमा सम्मानित भयो । उक्त पुरस्कार केन्द्रका केन्द्र प्रमुख निर्मला बोहरालाई नगद दश हजार समेत प्रदान गरिएको थियो ।

यसैगरी, सहकारीका सेयर सदस्यका छोराछोरीमध्ये एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको छ। छात्रवृत्ति पाउनेमा सेयर सदस्य राजु देवी मडैका छोरा आशिष मडै र सेयर सदस्य धर्मा कुमारी मडैकी छोरी सिर्जना कुमारी मडै रहेका छन्। उनीहरूलाई जनही ५ हजार रुपैयाँ नगद छात्रवृत्ति प्रदान गरिएको हो।

 

उत्कृष्ट व्यवसायिक सेयर सदस्य सम्मान
कार्यक्रममा उत्कृष्ट व्यवसायिक सेयर सदस्यहरूलाई पनि सम्मान गरिएको छ। सम्मानित हुनेहरूमा मानमती देवी बोहरा, मानमती बोहरा, मीरा देवी बिष्ट, पार्वती देवी श्रेष्ठ तथा पदमा कुमारी राउटे रहेका छन्।

स्थापना, विस्तार र आर्थिक प्रगति विवरण
कार्यक्रममा अगरगढी क्षेत्रका इलाका प्रमुख खगेन्द्र देबकोटाले सहकारीको स्थापना, उद्देश्य तथा आर्थिक प्रगति सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभयो। उहाँका अनुसार किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको स्थापना २०५२ सालमा लम्कीचुहा क्षेत्रमा २५ जना सदस्यबाट ६० हजार ३ सय रुपैयाँ पूँजी संकलन गरी गरिएको थियो।

स्थापनाकालदेखि निरन्तर विस्तार हुँदै आएको सहकारीले हालसम्म ७ जिल्लामा आफ्नो शाखा सञ्जाल विस्तार गरिसकेको छ। हाल सहकारीका कुल ४० शाखा सञ्चालनमा रहेका छन्। जिल्लागत रूपमा कैलालीमा २३, कञ्चनपुरमा ७, डोटीमा ३, डडेल्धुरामा २, अछाममा ३ तथा बैतडी र बर्दियामा १–१ शाखा सञ्चालनमा रहेका छन्।

२०८२ साल असार मसान्तसम्म सहकारीको सेयर पूँजी ५१ करोड रुपैयाँ, कुल बचत ४ अर्ब रुपैयाँ र कुल सम्पत्ति ७ अर्ब रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख गरिएको छ। हाल सहकारीमा ९२ हजार ४ सय १५ जना सेयर सदस्य आबद्ध रहेका छन् भने विभिन्न शाखामा ३ सय ७ जना कर्मचारी कार्यरत रहेका छन्।

वार्षिक साधारणसभामा किसान सहकारीको आलिताल शाखा प्रमुख सुरजकला शाहीले आगामी योजना तथा कार्यक्रमहरू प्रस्तुत गर्नुभएको थियो। उहाँका अनुसार हाल आलिताल एकाइमा २ हजार १ सय ५७ जना सेयर सदस्य किसान आबद्ध रहेका छन्। आगामी दिनमा सदस्य संख्या वृद्धि, बचत तथा कर्जा सेवा विस्तार, कृषि उत्पादनमा आधारित कार्यक्रम तथा किसान लक्षित आयआर्जनमूलक योजनालाई प्राथमिकता दिइने बताइएको छ।

कार्यक्रम सहकारीका सदस्य, कर्मचारी, स्थानीय जनप्रतिनिधि तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय सहभागितामा सम्पन्न भएको थियो।

You might also like
Leave A Reply

Your email address will not be published.