डडेल्धुरा : डडेलधुरामा अटो र जिप एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
आज राति करिब ८:५० बजे आलिताल गाउँपालिका–४ जालतुडा नजिक उक्त दुर्घटना भएको हो। जोगबुडाबाट बुडरतर्फ जाँदै गरेको डोटी जिल्लाको जोरायल गाउँपालिका–२ निवासी लक्षण चौधरीले चलाएको म १ च ४४१ नम्बरको जिप र विपरीत दिशाबाट आउँदै गरेको डडेलधुरा जिल्ला परशुराम नगरपालिका–१० जजोलाका २३ वर्षीय गोपाल मगरले चलाएको ०१ ह ४०८ नम्बरको अटो एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा अटोमा सवार चालकसहित तीन जना रहेकोमा अटो चालक फरार रहेका छन्। अटोमा सवार परशुराम नगरपालिका–१० जजोलाका २६ वर्षीय राम बराल मगरको जोगबुडामा उपचारको क्रममा मृत्यु भएको डडेल्धुरा प्रहरीले जनाएको छ।
दुर्घटनामा अछाम जिल्ला पञ्चदेवल नगरपालिका–३ निवासी सबिता थापा मगर घाइते भएकी छन्। अवस्था गम्भीर रहेको जनाइएको छ ।
मृतक राम बराल मगर र घाइते सबिता थापा मगर आजै विवाह सम्पन्न गरी अछामबाट घर फर्किँदै गरेको अवस्थामा दुर्घटनामा परेका हुन्।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
