
डडेल्धुरा : परशुराम नगरपालिका–१ मनगडा, कटाल निवासी २७ वर्षीय धनबहादुर बोहरा गम्भीर मस्तिष्क (ब्रेन) ट्युमर रोगसँग जीवन–मृत्युको संघर्ष गरिरहेका छन्। विगत दुई वर्षदेखि सो रोगबाट पीडित बोहराको उपचारमा परिवारले हालसम्म ठूलो आर्थिक भार व्यहोर्नुपरेको छ।
एक वर्षअघि चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा उपचार गराउँदा करिब ८ लाख रुपैयाँ खर्च भएको थियो। उपचारपछि केही सुधार देखिए पनि पूर्ण रूपमा निको नभएपछि उनी रोजगारीका सिलसिलामा भारतको केरलामा रहेका बेला पुनः स्वास्थ्य समस्या देखिएको थियो। हाल उनलाई भारतस्थित कलिगेट मेडिकल कलेजमा उपचार गराइँदै आएको छ।

अत्यन्तै कमजोर आर्थिक अवस्था, वृद्ध बुवा तथा सानो एक छोरा र एक छोरीको भविष्यको चिन्ताले बोहराको परिवार थप समस्यामा परेको छ। निरन्तर उपचार आवश्यक भए पनि आर्थिक अभावका कारण उपचार अगाडि बढाउन कठिनाइ भइरहेको परिवारले जनाएको छ।

हरेक दिन आशा र डरबीच बिताइरहेका धनबहादुरको जीवन बचाउन परिवार तथा आफन्तले आर्थिक सहयोग अभियान सुरु गरेका छन्। सानो सहयोगले पनि एउटा जीवन बच्न सक्ने भन्दै सहयोग गर्न सक्ने सबैमा अपिल गरिएको छ।
सहयोग विवरण:

📞 सम्पर्क नम्बर: 7676440547 (भारत)
सहयोग गर्न नसक्नेहरूले पनि उक्त अभियानलाई सामाजिक सञ्जालमार्फत साझा (share) गरिदिन आग्रह गरिएको छ। पीडित परिवारले सहयोग, प्रार्थना र सद्भावनाका लागि सबैप्रति आभार व्यक्त गरेको छ।



