दुर्गा माध्यमिक विद्यालयको ५५औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

sc mahendra

डडेल्धुरा : डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिका वडा नम्बर ८ डोलामा अवस्थित दुर्गा माध्यमिक विद्यालयले आफ्नो ५५औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर देउबाको अध्यक्षतामा तथा डडेल्धुरा जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख खडक महतको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा आलिताल गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत खेमराज जोशीको विशिष्ट आतिथ्य रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि महताले अभिभावक शिक्षा अत्यावश्यक रहेको बताउनुभयो। उहाँले अभिभावक दिवसका अवसरमा समेत अभिभावकको उपस्थिति कम देखिएको उल्लेख गर्दै शिक्षकहरू अभिभावकको घरदैलोमै पुगेर बालबालिकाको शिक्षाबारे बुझाउनुपर्ने सुझाव दिनुभयो। उहाँले पहिले नै नैतिक शिक्षाको अभाव रहेको विषयमा समेत ध्यानाकर्षण गराउनुभयो।

वि.सं. २०२७ सालमा स्थापना भएको उक्त विद्यालयले लामो समयपछि वार्षिक उत्सव आयोजना गरेको हो। विद्यालयले शैक्षिक क्षेत्रसँगै खेलकुदमा पनि उल्लेखनीय सफलता हासिल गर्दै आएको छ। नियमित अभ्यास र उत्कृष्ट प्रदर्शनका कारण दुर्गा माध्यमिक विद्यालय पालिकाकै अग्रणी विद्यालयका रूपमा परिचित हुँदै आएको छ।

कार्यक्रमका क्रममा विद्यालयको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। साथै विद्यार्थीहरूको लगनशीलता र अनुशासनको मूल्यांकन गर्दै वर्षभरि अध्ययनमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो। उत्कृष्ट शिक्षक तथा कर्मचारीलाई समेत सम्मान गरिएको कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै वार्षिक उत्सव तथा अभिभावक दिवसलाई थप उल्लासमय बनाएका थिए।

वार्षिक उत्सवका अवसरमा वक्तृत्वकला, हाजिरीजवाफ तथा भलिबलजस्ता खेलकुद कार्यक्रमहरू अन्तर–सदनात्मक रूपमा सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक मानबहादुर रावतले जानकारी दिनुभयो। उहाँका अनुसार विद्यालय स्थापनामा योगदान पुर्‍याएका व्यक्तित्व, उत्कृष्ट शिक्षक तथा विद्यार्थीहरूलाई सम्मान गर्ने कार्यक्रम समेत समावेश गरिएको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देउबाले विद्यालयमा शिक्षकको आवश्यकता पूरा भए पनि आर्थिक व्ययभार आन्तरिक स्रोतबाट बेहोर्नु परेको समस्या औँल्याउनुभयो। उहाँले विद्यालयप्रति अभिभावकको चासो अपेक्षाकृत कम देखिएको गुनासो गर्दै अभिभावकको सक्रिय सहभागिताबिना विद्यालयको शैक्षिक सुधार सम्भव नहुने बताउनुभयो। अभिभावकलाई विद्यालयका गतिविधिप्रति चनाखो र जिम्मेवार बन्न आग्रह गर्नुभयो।

You might also like
Leave A Reply

Your email address will not be published.