नबिल बैंकद्वारा कृष्ण कालिका माविका विद्यार्थीलाई वित्तीय साक्षरता प्रशिक्षण

sc mahendra

डडेल्धुरा: डडेल्धुराको आलितालमा रहेको नबिल बैंक शाखाले Global Money Week 2026 को अवसरमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ।
आलिताल गाउँपालिका वडा नं. ४ स्थित श्री कृष्ण कालिका माध्यमिक विद्यालयमा आयोजना गरिएको उक्त कार्यक्रममा कक्षा ११ र १२ मा अध्ययनरत करिब ४० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रमको उद्देश्य बालबालिका तथा किशोरकिशोरीहरूमा आर्थिक चेतना अभिवृद्धि गर्नुका साथै वित्तीय साक्षरता विकास गर्नु रहेको थियो।


कार्यक्रममा बचतको महत्त्व, जिम्मेवार खर्च गर्ने बानी, तथा डिजिटल बैंकिङ सम्बन्धी जानकारी प्रदान गरिएको शाखा प्रमुख लोक राज बिनाडीले जानकारी दिए। उनले पछिल्लो समय बैंकिङ क्षेत्रमा बढ्दै गइरहेका डिजिटल अपराधहरू न्यूनीकरण गर्न तथा बैंकको नाममा हुने ठगीप्रति सचेत रहनुपर्ने आवश्यकता औंल्याए।
त्यस्तै, कार्यक्रममा सहभागी विद्यार्थीहरूले बैंकिङ तथा वित्तीय गतिविधिहरूका बारेमा नयाँ ज्ञान प्राप्त गरेको बताएका छन्। शाखामा कार्यरत कर्मचारी घनश्याम भट्टले यस्ता कार्यक्रममार्फत विद्यार्थीहरूमा वित्तीय ज्ञान विस्तार गर्दै बैंकिङ सचेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको बताए।
Global Money Week एक वार्षिक विश्वव्यापी जागरूकता अभियान हो, जसले युवाहरूलाई सानै उमेरदेखि आर्थिक रूपमा सचेत बनाउँदै सही वित्तीय निर्णय लिन आवश्यक ज्ञान, सीप, मनोवृत्ति र व्यवहार विकास गर्न प्रेरित गर्दछ। यस वर्ष उक्त अभियानको १४औं संस्करण मार्च १६ देखि २२ सम्म मनाइँदैछ।
नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष यस अभियानको अवसरमा यस्ता सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। बैंकले आगामी दिनमा पनि समुदायस्तरमा वित्तीय साक्षरताका कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.