

डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा कृष्णानन्द जोशी हाजिर भएका छन्। गाउँपालिकाले आज एक औपचारिक कार्यक्रम आयोजना गरी उनलाई स्वागत गरेको हो।
स्वागत कार्यक्रममा बोल्दै अधिकृत जोशीले कर्मचारीलाई केवल हाजिरी गरेर मात्र पूर्ण अंक प्राप्त नहुने भन्दै कार्यसम्पादनमा केन्द्रित हुन आग्रह गरे। उनले कर्मचारीको ढिलासुस्तीका कारण जनप्रतिनिधि आलोचित हुने अवस्था नआउने गरी जिम्मेवार र प्रभावकारी रूपमा काम गर्न निर्देशन दिए।
सामाजिक सञ्जालमा जनप्रतिनिधिप्रति सकारात्मक धारणा नबनेको उल्लेख गर्दै उनले त्यसको सुधारका लागि कर्मचारीको भूमिका महत्त्वपूर्ण हुने बताए। गाउँपालिकाले गरेको न्यानो स्वागतप्रति आभार व्यक्त गर्दै जोशीले आफूले पाएको सम्मानको औचित्य कायम राख्ने गरी काम गर्ने प्रतिबद्धता जनाए। उनले “आउँदा मात्र होइन, जाँदा पनि माला र खादा पाउने गरी काम गर्नेछु” भने।
कर्मचारीलाई निर्देशन दिँदै उनले कानुनअनुसारका काम मात्र गर्न आग्रह गरे। “कानुनले नमिल्ने काम भए त्यसको बचाउ म गर्न सक्दिनँ,” उनले स्पष्ट पारे। साथै, कुनै पनि प्रकारको दबाब वा चिनजानका आधारमा कानुनविपरीत काम नगर्न सचेत गराउँदै त्यस्तो कार्यको जिम्मेवारी स्वयं कर्मचारीले लिनुपर्ने बताए।
उनले उदाहरण दिँदै इमानदारी र पारदर्शितालाई प्राथमिकतामा राख्न सुझाव दिए—“कसैले नचिने फरक पर्दैन, तर चिन्छ कि भनेर मुख छोपेर हिँड्नुपर्ने अवस्था आउन नदिनुहोस्।”
जोशी यसअघि परशुराम नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालिरहेका थिए।



