डडेल्धुरा: नबिल बैंक र आलिताल गाउँपालिकाको संयुक्त आयोजनामा “वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम” आज (बुधबार) देखि सुरु भएको छ। दुई दिने उक्त तालिम भोलि ३१ गते समापन हुने आयोजकले जनाएको छ।

आलिताल गाउँपालिकाको सभा हलमा सञ्चालन भएको तालिम विशेषगरी बाख्रापालन व्यवसाय गरिरहेका किसानलाई लक्षित गरिएको छ। तालिममा बाख्रापालन सम्बन्धी ज्ञानसँगै वित्तीय साक्षरता, बचत, लगानी व्यवस्थापन तथा बैंकिङ सेवासम्बन्धी जानकारी प्रदान गरिनेछ।
कार्यक्रममा बोल्दै नबिल बैंक आलिताल शाखाका प्रमुख लोकराज विनाडीले बाख्रापालन किसानलाई उद्यमशीलतासँगै वित्तीय साक्षरताको तालिम आवश्यक रहेको महसुस गर्दै कार्यक्रम आयोजना गरिएको बताए। उनले व्यवसाय गर्न बैंकले प्रदान गर्ने सेवा तथा सुविधाबारे जानकारी दिँदै उद्यमीलाई वित्तीय ज्ञान हुनु अत्यावश्यक रहेको उल्लेख गरे।

उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शेर सिंह पार्कीले पालिकाले उद्यम गर्न चाहनेलाई सधैँ सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग जारी रहने बताए। उनले बाख्रापालन गर्न इच्छुक किसानलाई गाउँपालिकामा आएर समन्वय गर्न आग्रह गर्दै उद्यमी बन्न सबैलाई आह्वान गरे। अध्यक्ष पार्कीले परिवर्तित समयमा व्यवसाय सञ्चालन सहज बन्दै गएको उल्लेख गर्दै उद्यमशीलतासँगै वित्तीय ज्ञान पनि आवश्यक रहेको बताए। साथै, सरकारले उपलब्ध गराउने अनुदान प्राप्त गर्न केही कानुनी प्रक्रिया पूरा गर्नुपर्ने भएकाले प्रक्रिया केही झन्झटिलो हुने विषयलाई पनि उनले स्वीकार गरे। तर आवश्यक प्रक्रिया पूरा गरेर किसान तथा उद्यमीले सरकारी सहयोगको लाभ लिन सक्ने भन्दै उनले पालिकाले त्यसमा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे।

बाख्रा सम्बन्धी तालिममा सहजिकरण आलिताल पशु स्वास्थ्य प्राविधिक धन बहादुर मडैले गर्नु हुने छ भने वित्तिय साक्षरता सम्बन्धी नबिल बैंकका कर्मचारीले सहजीकरण गर्ने छ्न ।
