आलितालमा महिलाको आर्थिक सशक्तीकरणका लागि ‘संवाद परियोजना’ शुभारम्भ

sc mahendra

डडेल्धुरा, जेठ ६ : डडेल्धुराको आलिताल गाउँपालिकामा महिलाको आर्थिक सशक्तीकरण, सामाजिक सहभागिता तथा अनुकूलन वातावरण निर्माण गर्ने उद्देश्यसहित “संवादमार्फत महिलाको आर्थिक उन्नतिका निमित्त अनुकूलन वातावरणको सृजना परियोजना” शुभारम्भ गरिएको छ।
बुधबार आयोजित परियोजना शुभारम्भ समारोहमा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघसंस्था, महिला समूह, सहकारीका प्रतिनिधि तथा स्थानीय महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले ग्रामीण क्षेत्रमा रहेका महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन यस्ता परियोजनाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।


कार्यक्रमको उद्घाटन गर्दै आलिताल गाउँपालिकाकी उपाध्यक्ष मैना कुमारी रावल(बोहरा)ले संवादमार्फत महिलाहरूलाई आर्थिक तथा सामाजिक रूपमा सशक्त बनाउने कार्यदिशा तय गरिने बताइन्। उनले महिलाको आर्थिक उन्नतिका लागि मानसिक रूपमा तयार र आत्मविश्वासी हुनु आवश्यक रहेको उल्लेख गर्दै कुनै पनि विकास कार्यक्रमको मुख्य उद्देश्य समाजको समग्र विकास नै भएको धारणा राखिन्।
उपाध्यक्षले धेरै महिलाले आफ्ना समस्या तथा आवाज सम्बन्धित कार्यालयसम्म पुर्‍याउन नसक्ने अवस्था रहेको बताउँदै यस कार्यक्रमले ती समस्यालाई उजागर गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन्। “समाजमा आफ्ना कुरा स्पष्ट रूपमा राख्न सक्ने, आफ्ना पीडा र अनुभव खुला रूपमा प्रस्तुत गर्न सक्ने वातावरण निर्माण गर्नु पनि कार्यक्रमको उद्देश्य हो,” उनले भनिन्।


उनले गाउँपालिकाले महिला सशक्तीकरण, सामाजिक सुधार तथा चेतनामूलक क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको भए पनि धेरै समस्या अझै जस्ताको त्यस्तै रहेको बताइन्। समाजलाई संस्कारी, सचेत र जिम्मेवार बनाउने प्रयास जारी रहेको उल्लेख गर्दै अब यस परियोजनाले त्यसमा थप सहयोग पुर्‍याउने अपेक्षा गरिएको उनले बताइन्।

कार्यक्रममा बोल्दै कार्यक्रम अधिकृत कमला रानाले संवादको माध्यममार्फत महिलाको आर्थिक उन्नतिका लागि अनुकूल वातावरण सिर्जना गर्नु परियोजनाको मुख्य उद्देश्य रहेको बताइन्। उनका अनुसार लक्षित वर्गका महिला दिदीबहिनीलाई पालिका स्तर, प्रदेश स्तर तथा समग्र नीति निर्माण तहसम्म सहभागिता गराउने वातावरण निर्माण गरिनेछ। साथै महिलामा सम्पत्तिको स्वामित्व सम्बन्धी सचेतना अभिवृद्धि गर्न सात चरणका संवाद कार्यक्रम सञ्चालन गरी करिब १ हजार ५ सय महिलालाई क्षमतावान बनाउने लक्ष्य रहेको उनले जानकारी दिइन्।


त्यस्तै महिलाले दैनिक जीवनमा भोगिरहेका सामाजिक, आर्थिक तथा पारिवारिक चुनौतीबारे खुला संवाद गराई समस्या समाधानका उपाय खोज्ने वातावरण निर्माण गरिने परियोजनाको उद्देश्य रहेको आयोजकले जनाएको छ। परियोजनाले विशेषगरी विपन्न, ग्रामीण तथा अवसरबाट पछाडि परेका महिलालाई लक्षित गरी उनीहरूको क्षमता विकास र आर्थिक सुदृढीकरणमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।कार्यक्रममा सहभागी वक्ताहरूले अहिले पनि धेरै महिलाहरू सार्वजनिक कार्यक्रममा सहभागी हुन हिच्किचाउने तथा सहभागी भए पनि समूहमा खुलेर बोल्न नसक्ने अवस्था रहेको उल्लेख गर्दै त्यसको अन्त्यका लागि सबै मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।
उक्त परियोजनामा GRAPE 2, युरोपियन युनियन, GIZ लगायतका संस्थाको सहयोग रहेको जनाइएको छ। आलिताल गाउँपालिकामा संवाद सहजकर्ताको रूपमा सीता विक र अस्मिता मडै (साउद) रहेका छन्।
कार्यक्रमको सञ्चालन आलिताल गाउँपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख निता मानन्धरले गरेकी थिइन्।

You might also like
Leave A Reply

Your email address will not be published.