डडेल्धुरामा महिलालाई मासुको अचार बनाउने सात दिने तालिम सुरु

sc mahendra

डडेल्धुरा, जेठ ७ : डडेल्धुराको अमरगढी नगरपालिका–५ मा महिलाहरूलाई लक्षित गर्दै सात दिने मासुको अचार बनाउने सीप विकास तालिम सुरु गरिएको छ। घरेलु तथा साना उद्योग कार्यालय, डडेल्धुराको आयोजनामा सञ्चालन भएको तालिम “सीप सिकौँ, स्वरोजगारीमार्फत आत्मनिर्भर बनौँ” भन्ने नारासहित सुरु गरिएको हो।

घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुराका कार्यालय प्रमुख केशब सिंह भण्डारीका अनुसार स्थानीय महिलालाई व्यावसायिक रूपमा सक्षम र आत्मनिर्भर बनाउने उद्देश्यले तालिम आयोजना गरिएको हो। उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ डडेल्धुराका अध्यक्ष हिक्मत सिंह प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। उहाँले सिकेको सीपलाई व्यवहारमा उतार्दै बजारसम्म पुर्‍याउन सके आत्मनिर्भर बन्न सहज हुने बताउनुभयो।

कार्यक्रमका अध्यक्षसमेत रहेका कार्यालय प्रमुख भण्डारीले स्थानीय स्तरमा परम्परागत रूपमा गरिँदै आएका पेशालाई उद्यमशीलतासँग जोड्न कार्यालयले निरन्तर प्रविधि र सीप हस्तान्तरण गर्दै आएको जानकारी दिनुभयो।

नेपाली बजारमा मांसाहारी अचारको माग बढ्दै गएकाले तालिममा खसी, कुखुरा र बङ्गुरको मासुको अचार बनाउने विधिलाई प्राथमिकता दिइएको छ। ताजा मासु छिट्टै बिग्रने समस्यालाई मध्यनजर गर्दै वैज्ञानिक तरिकाले अचार तयार गरी लामो समयसम्म सुरक्षित राख्ने तथा बजारिकरण गरेर आम्दानी बढाउने विषयमा प्रशिक्षण दिइने आयोजकले जनाएको छ।

जेठ ७ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने तालिममा सहभागीलाई स्थानीय स्तरमै उपलब्ध कच्चा पदार्थ र मसलाको प्रयोग गरी गुणस्तरीय अचार बनाउने, सुरक्षित भण्डारण गर्ने, आकर्षक प्याकेजिङ तथा बजारिकरण गर्ने तरिका प्रयोगात्मक रूपमा सिकाइनेछ।

न्यून लगानीमै घरबाटै लघु उद्योग सञ्चालन गर्न प्रेरित गर्ने उद्देश्यसहित आयोजित तालिममा जिल्लाभरबाट १८ जना प्रशिक्षार्थी सहभागी रहेका छन्।

You might also like
Leave A Reply

Your email address will not be published.