
धनगढी : सत्तारुढ दलहरूबीचको लामो छलफल र विवादका कारण ढिलाइ भएपछि सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि मध्यरातमा बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला मन्त्री विक्रम सिंह धामी ले प्रदेश सभामा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका हुन्।
सरकारले कृषि, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै बजेट ल्याएको जनाएको छ। बजेटमार्फत प्रदेशका कर्मचारीको तलबभत्ता १० प्रतिशतले वृद्धि गर्ने घोषणा पनि गरिएको छ।


बजेट प्रस्तुत गर्ने क्रममा मन्त्रालयगत कार्यक्रम र बजेट विनियोजनको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन। राजनीतिक सहमति जुटाउन ढिलाइ हुँदा बजेट मध्यरातपछि मात्रै प्रदेश सभामा पेश भएको हो।
बजेट कार्यान्वयनका लागि प्रदेश सरकारले विभिन्न स्रोतबाट राजस्व तथा अनुदान प्राप्त हुने अनुमान गरेको छ। आन्तरिक राजस्वबाट १ अर्ब ७२ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ भने संघीय राजस्व बाँडफाँटबाट १० अर्ब २४ करोड ९२ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
यस्तै, वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ६ करोड ३३ लाख, चालु आर्थिक वर्षको बचत रकमबाट ९ अर्ब ६५ करोड, ससर्त अनुदानबाट ६ अर्ब ३ करोड ५८ लाख, समपूरक अनुदानबाट ३८ करोड ८० लाख तथा विशेष अनुदानबाट ५२ करोड ७६ लाख रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ। संघीय रोयल्टी बाँडफाँटबाट थप ७ करोड रुपैयाँ प्राप्त हुने सरकारको अनुमान छ।
प्रदेश सरकारले प्रस्तुत गरेको बजेट अब प्रदेश सभामा छलफलपछि कार्यान्वयन प्रक्रियामा जानेछ।



