
डोटी, असार ५ : डोटी जिल्लाको जोरायल गाउँपालिका–२ स्थित बुडर बजार क्षेत्रमा प्रस्तावित २५ मिटर सडक विस्तारको विषयलाई लिएर स्थानीय व्यवसायी तथा सरोकारवालाहरूले संघर्ष समिति गठन गरेका छन्।
बजार क्षेत्रमा २५ मिटर सडक विस्तार गरिए ठूलो संख्यामा घरटहरा तथा व्यवसाय प्रभावित हुने भन्दै व्यवसायीहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराउन संघर्ष समिति गठन गरी आवश्यक कार्यक्रम अघि बढाउने निर्णय गरेका हुन्। स्थानीयका अनुसार सडक विस्तारका नाममा बजार क्षेत्रमा रहेका संरचनाहरू हटाउनुपर्ने अवस्था सिर्जना हुने भएकाले उक्त निर्णयप्रति उनीहरूले असहमति जनाएका छन्।

संघर्ष समितिले सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यमबाट प्राप्त सूचनाका आधारमा बुडर बजार क्षेत्रमा तत्काल दायाँ–बायाँ २५ /२५ मिटर सडक विस्तार गरिने तयारी भएको जानकारी प्राप्त भएको जनाएको छ।
समितिले तत्काल २५ मिटर सडक विस्तार नगरी हाललाई १५ मिटरमै सीमित गर्न तथा आवश्यक परे भविष्यमा योजनाबद्ध रूपमा २५ मिटर नै विस्तार गर्न सरकारसँग आग्रह गरेको छ।

यसै विषयमा हिजो बिहिबार बसेको भेलाले बुडर बजार क्षेत्रमा तत्काल २५ मिटर दाँया र बाँया सडक विस्तार नगर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउने, आवश्यक पहलका लागि विभिन्न निकायमा ज्ञापनपत्र बुझाउने तथा व्यवसायीहरूको हकहित संरक्षणका लागि संघर्ष समिति गठन गर्ने निर्णय गरेको जनाएको छ।

गठित संघर्ष समितिको संयोजकमा चन्द्र कुँवर चयन भएका छन्। समितिका सदस्यहरूमा गणेश ऐर, सन्दीप गुरुङ, प्रेमबहादुर रावल, देवराज जोशी, कृष्ण विष्ट र मुकुन्द प्रसाद पन्त रहेका छन्।
भेलाले निर्णय कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालय डोटीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापनपत्र पेश गर्ने निर्णयसमेत गरेको छ।
स्थानीय व्यवसायी अर्जुन सिह महराले बजारको अस्तित्व, व्यवसाय तथा जनजीवनमा प्रत्यक्ष असर पुग्ने गरी तत्काल सडक विस्तार नगर्न सरकारसँग माग गर्ने निर्णय गरिएको बताए। । माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने संघर्ष समितिले जनाएको छ।





